काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्ड प्रतिनिधि सभा सदस्य पदमा विजयी भएका छन् । शुक्रबार सम्पन्न आम निर्वाचनको अन्तिम मतपरिणामअनुसार उनी रुकुम पूर्वबाट १० हजार २४० मतसहित निर्वाचित भएका हुन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लिलामणि गौतम ले ३ हजार ४६२ मत प्राप्त गरेका छन् । यस्तै नेपाली कांग्रेसकी कुशुमदेवी थापा ले ३ हजार ८१ मत पाएकी छन् ।
प्रचण्डको विजयसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले यसपटकको प्रतिनिधि सभा निर्वाचनमा जितको खाता खोलेको छ । रुकुम पूर्वमा सुरुदेखि नै अग्रता कायम गरेका प्रचण्डले अन्ततः फराकिलो मतान्तरसहित विजय हासिल गरेका हुन् ।
यो परिणामसँगै आगामी संसदमा नेकपाको उपस्थिति सुनिश्चित भएको छ भने अन्य क्षेत्रमा पनि मतगणना जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।

