काठमाडौं । उज्यालो नेपाल पार्टीले फागुन २१ गते हुने निर्वाचनका लागि आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ। पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रतिबद्धता पत्र सार्वजनिक गर्दै संरचनागत सुधारमार्फत शासन प्रणाली चुस्त बनाउने एजेन्डा अघि सारेका छन्।
प्रतिबद्धता पत्रमा संघ र प्रदेशका सांसद संख्या घटाउने प्रस्ताव गरिएको छ। प्रतिनिधिसभा सदस्य संख्या हालको २ सय ७५ बाट घटाएर २ सय १ कायम गर्ने तथा प्रदेशसभा सदस्य संख्या कूल ५ सय ५० बाट ३ सय ३० मा सीमित गर्ने घोषणा गरिएको छ।
त्यसैगरी संघीय सरकारका मन्त्रालय २५ बाट घटाएर १५ मा झार्ने तथा प्रदेशमा ५ देखि ७ वटामात्र मन्त्रालय राख्ने प्रस्ताव पनि अघि सारिएको छ।
प्रदेश सरकारको स्थायित्वका लागि मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित हुनुपर्ने व्यवस्था गर्नुपर्ने र स्थानीय तहको निर्वाचन दलविहीन बनाइनुपर्ने एजेन्डा पनि प्रतिबद्धता पत्रमा समेटिएको छ। पार्टीले यी प्रस्तावमार्फत खर्च कटौती, स्थिरता र प्रभावकारी शासन सुनिश्चित गर्ने दाबी गरेको छ।

