काठमाडौं । इन्डिया नेशनल क्रिकेट टिमले आइसिसी मेन्स टी-२० विश्वकप अन्तर्गत आइतबार चिरप्रतिद्वन्द्वी पाकिस्तन नेशनल क्रिकेट टिमलाई ६१ रनले पराजित गर्दै शानदार जित दर्ता गरेको छ।
१ सय ७६ रनको लक्ष्य पछ्याएको पाकिस्तान १८ ओभरमै सबै विकेट गुमाउँदै १ सय १४ रनमा समेटियो। पाकिस्तानका लागि उसमान खानले ३६ बलमा ६ चौका र १ छक्कासहित ४४ रन बनाउँदै संघर्ष गरे। सादब खानले १४ रन जोडे भने अन्त्यतिर शाहिन अफ्रिदीले २३ रन थपे पनि टोलीलाई जित दिलाउन पर्याप्त भएन।
भारतीय बलिङतर्फ हार्दिक पाण्ड्या, जसप्रित बुमराह, अक्षर पटेल र वरुण चक्रवर्तीले समान दुई–दुई विकेट हात पार्दै पाकिस्तानको ब्याटिङ धराशायी पारे।
यसअघि टस जितेर फिल्डिङ रोजेको पाकिस्तानविरुद्ध भारतले ७ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो। सुरुआतमा ठूलो स्कोरतर्फ उन्मुख देखिए पनि मध्यम चरणमा रन गति केही सुस्तिएको थियो। अभिषेक वर्मा शून्यमै आउट भए पनि इशान किशनले ४० बलमा १० चौका र ३ छक्कासहित ७७ रनको आक्रामक इनिङ्स खेले। तिलक वर्माले २५, कप्तान सूर्यकुमार यादवले ३२ तथा शिवम दुबेले २७ रनको योगदान दिए।
पाकिस्तानी बलर सइम अयुबले २५ रन खर्चेर ३ विकेट लिँदै प्रभावशाली प्रदर्शन गरे पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।
यो जितसँगै भारतले लगातार तेस्रो विजय हासिल गर्दै ६ अंकका साथ सुपर–८ चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ। पाकिस्तान भने समूहको तेस्रो स्थानमा झरेको छ।
समूहमा अमेरिका दोस्रो स्थानमा रहेको छ।

