धरान । छब्बिसौँ बुढासुब्बा गोल्डकपको उपाधि प्लानिङ ब्वाइज युनाइटेडले जितेको छ। धरान रंगशालामा सम्पन्न फाइनलमा चर्च ब्वाइज युनाइटेड लाई १–० गोल अन्तरले पराजित गर्दै प्लानिङ ब्वाइजले ऐतिहासिक सफलता हात पारेको हो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ६३औँ मिनेटमा प्रतापसिंह राईले निर्णायक गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा राईको गोल नै उपाधि निर्धारण गर्ने माध्यम बन्यो।
लगातार दोस्रोपटक चर्च ब्वाइज उपविजेतामा सीमित हुँदा पहिलो सहभागितामै प्लानिङ ब्वाइजले उपाधि उचाल्न सफल भयो। विजेताले नगद १० लाख रुपैयाँ प्राप्त गर्यो भने उपविजेता चर्च ब्वाइजले ५ लाख रुपैयाँ हात पार्यो।
फाइनलको ‘म्यान अफ दी म्याच’ प्लानिङ ब्वाइजका पूजन थापा घोषित हुँदै १० हजार रुपैयाँ पाए। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी प्रतापसिंह राई घोषित हुँदै पुरस्कारमा एक थान स्कुटर प्राप्त गरे।
उत्कृष्ट गोलरक्षक योगेश धिमाल, उत्कृष्ट डिफेन्डर निङ्मा घिसिङ (प्लानिङ ब्वाइज), उत्कृष्ट मिडफिल्डर रोहन कार्की तथा उत्कृष्ट स्ट्राइकर अभियोमी घोष (चर्च ब्वाइज) घोषित भए। उनीहरूले जनही २५ हजार रुपैयाँ पुरस्कार पाए।
सर्वाधिक गोलकर्तातर्फ प्रतापसिंह राई (प्लानिङ ब्वाइज) तथा झापा–११ का एरोन थापा र राजेश दाहाल संयुक्त रूपमा उत्कृष्ट बन्दै जनही १२ हजार रुपैयाँ प्राप्त गरे।

