काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रूपमा प्रचार–प्रसार गर्न पाइने भएको छ। मतदानको दिनभन्दा १५ दिनअघि मात्रै जुलुस, आमसभा, कोणसभा तथा सञ्चारमाध्यममार्फत निर्वाचनसम्बन्धी सामग्री प्रकाशन/प्रसारण गर्न पाइने कानुनी व्यवस्थाअनुसार आजदेखि फागुन १८ गते राति १२ बजेसम्म प्रचार खुला रहनेछ।
निर्वाचन आयोग ले निर्वाचनको निष्ठा र विश्वसनीयतालाई उच्च प्राथमिकतामा राख्दै आचारसंहिताको पूर्ण पालना गर्न दल, उम्मेदवार र सरोकारवालालाई आग्रह गरेको छ। सोही व्यवस्थाभित्र रहेर उम्मेदवारहरूले औपचारिक रूपमा मतदातासमक्ष मत माग्न पाउनेछन्।
आयोगले आचारसंहिता कार्यान्वयन तथा अनुगमनका लागि विभिन्न संयन्त्र परिचालन गरिरहेको जनाएको छ। उल्लङ्घन भए स्पष्टीकरण सोधिने र आवश्यक परे कानुनी कारबाही अघि बढाइने स्पष्ट पारिएको छ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी ले आचारसंहिता उल्लङ्घनका घटनामा ‘शून्य सहनशीलता’ नीति अवलम्बन गरिएको जानकारी दिएका छन्।
उल्लङ्घनको प्रकृति हेरी सचेतना, दण्ड–जरिवाना वा उम्मेदवारी खारेजीसम्मको व्यवस्था रहेको उनले बताए।
निर्धारित मापदण्डअनुसार पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यममा विज्ञापन गर्न पाइनेछ भने आमसभा वा कोणसभा गर्दा मञ्च व्यवस्थापनलगायत खर्चको विवरण सम्बन्धित उम्मेदवारले निर्वाचन कार्यालयमा पेस गर्नुपर्नेछ।
निर्वाचन अवधिमा कुनै दल वा उम्मेदवारविरुद्ध मिथ्या सूचना, दुष्प्रचार तथा द्वेषपूर्ण अभिव्यक्ति सामाजिक सञ्जाल वा अनलाइन माध्यमबाट फैलाउन नपाइने आयोगले स्पष्ट पारेको छ।

