काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक मतपत्र छपाइ अन्तिम चरणमा पुगेको छ। जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका अनुसार करिब ५ लाख मतपत्र छाप्न बाँकी रहेको छ, जुन आज दिनभरमै छापिसक्ने लक्ष्य राखिएको छ।
केन्द्रका कार्यकारी प्रबन्ध सञ्चालक यदुनाथ पौडेलले प्रत्यक्षतर्फको मतपत्र छपाइ अन्तिम चरणमा पुगेको जानकारी दिँदै बागमती प्रदेशका लागि बाँकी मतपत्र आज साँझसम्म तयार हुने बताए। प्रत्यक्षतर्फ कुल २ करोड ३ लाख मतपत्र छाप्नुपर्नेमा अब अन्तिम ५ लाख मात्र बाँकी रहेको उनले जानकारी दिए।
मतपत्र छपाइ ४२ दिनको कार्यतालिका अनुसार सुरु गरिएको भए पनि तोकिएको समयभन्दा दुई दिन अगावै, अर्थात् ४० दिनमै काम सम्पन्न हुने अवस्थामा पुगेको छ। छपाइ सम्पन्न भएपछि भोलिसम्म सबै मतपत्र प्याकिङ गरी बाँकी जिल्लामा ढुवानी गरिने जनाइएको छ।
केन्द्रले दैनिक १३ देखि १५ लाखसम्म मतपत्र छाप्दै लक्ष्यभन्दा अघि नै काम अघि बढाएको छ। साथै, १० लाख नमूना मतपत्र भने निर्वाचन आयोग नेपाल मार्फत विभिन्न स्थानमा वितरण गरिसकिएको छ।
यसैबीच समानुपातिकतर्फका २ करोड ८ लाख ३० हजार मतपत्र छपाइ र प्याकिङ भइसकेको र ती जिल्लाहरूमा पठाउने क्रम जारी छ।
केन्द्रका अनुसार कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सबै मतपत्र पुगिसकेको छ भने बाँकी प्रदेशमा पनि १२ गतेसम्म पुर्याउने लक्ष्यका साथ काम भइरहेको छ।

