काठमाडौं । आगामी आमनिर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले फागुन ६ गते मधेस प्रदेशको राजधानी जनकपुरधामबाट औपचारिक चुनावी अभियान सुरु गर्ने भएको छ। निर्वाचन आयोगले तोकेको तालिका अनुसार आज फागुन ४ गतेदेखि देशव्यापी प्रचारप्रसार कार्यक्रम अघि बढाइने कांग्रेसले जनाएको छ।
पार्टीका प्रवक्ता देवराज चालिसेका अनुसार जनकपुरमा विशाल आमसभा आयोजना गरी चुनावी अभियानको थालनी गरिनेछ। आज (फागुन ४ गते) कांग्रेसले ‘प्रतिज्ञापत्र’ नाम दिइएको चुनावी घोषणा पत्र सार्वजनिक गर्ने कार्यक्रम छ । हिजो सार्वजनिक गर्ने भनिएको पार्टीको घोषणा पत्र विविध प्राविधिक कारणले आज सार्वजनिक गर्न लागिएको हो ।
कांग्रेसले यसपटकको प्रतिज्ञापत्रलाई नेपाली जनताले हरेक दिन ‘रिफरेन्स’ लिन सक्ने ‘जिवित दस्तावेज’का रूपमा प्रस्तुत गर्ने दाबी गरेको छ। प्रवक्ता चालिसेले सभापति गगन थापाको अगुवाइमा व्यापक अध्ययन, अनुसन्धान र विमर्शपछि तयार पारिएको दस्तावेजले मुलुकको समृद्धिका प्राथमिकता, जनताका सुखदुःख र विचारशील लोकतन्त्रका आयाम समेट्ने बताए।
‘यो दस्तावेजका आधारमा आगामी पाँच वर्षको हाम्रो कार्यव्यवहार मूल्यांकन गर्ने अधिकार नेपाली जनतामा हुनेछ,’ चालिसेले भने।
पारदर्शिता, जवाफदेहिता र प्रभावकारी कार्यप्रवाहमार्फत लोकतन्त्रलाई गतिशील बनाउने क्षमता कांग्रेससँग रहेको उनको दाबी छ।
यसैबीच कांग्रेसले लोकप्रियतावादलाई अस्वीकार गरेको बताउँदै निर्वाचन आयोगले जारी गरेको आचारसंहिताप्रति उच्च सम्मान व्यक्त गरेको छ। आचारसंहिताको कार्यान्वयनमा कतिपय दल तथा तिनका समर्थकबाट भइरहेको उल्लंघनप्रति भने सप्रमाण ध्यानाकर्षण गराइएको जनाएको छ।
विशेष महाधिवेशनको पृष्ठभूमिसहित पार्टीभित्र कुनै अलमल वा असहयोग नरहेको दाबी गर्दै कांग्रेसले आन्तरिक एकता थप सुदृढ बन्दै गएको उल्लेख गरेको छ। निवर्तमान पदाधिकारी तथा वरिष्ठ नेताहरू क्षेत्र–क्षेत्रमा खटिएर सहयोग र निर्देशन दिइरहेको विज्ञप्तिमा जनाइएको छ।

