काठमाण्डौ — लोमान्थाङमा निर्माण गरिएको पाँच शय्याको आधारभूत अस्पताल भवन एक वर्षदेखि प्रयोगविहीन अवस्थामा रहेको छ। नेपाल–चीन सीमावर्ती क्षेत्रका स्थानीय नागरिकलाई विशेषज्ञ चिकित्सकसहित स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले निर्माण गरिएको २७ कोठे अस्पताल सञ्चालनमा आउन नसकेको हो।
लोमान्थाङ–४ धुराङमा अवस्थित अस्पताल भवन गत वर्ष फागुनमा निर्माण सम्पन्न भएको थियो। तर आवश्यक जनशक्ति र स्वास्थ्य उपकरणको व्यवस्थापन हुन नसक्दा अस्पताल सञ्चालनमा आउन नसकेको स्थानीय तहले जनाएको छ।
नेपाल सरकारको एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रम अन्तर्गत लोमान्थाङ गाउँपालिका सँगको लागत साझेदारीमा दुई तले भवन निर्माण गरिएको हो। आर्थिक वर्ष २०७८/७९ मा निर्माण सुरु गरिएको अस्पताल कोभिड महामारीका कारण ढिलाइ हुँदै दुई वर्षपछि सम्पन्न भएको थियो।
करिब सात करोड १९ लाख रुपैयाँ लागतमा बनेको उक्त अस्पताल लोमान्थाङ बजारबाट करिब आधा घण्टा दूरीमा पर्छ। भवनमा शल्यक्रिया कक्ष, एक्स–रे कक्ष, प्रयोगशाला, प्रसूति कक्ष, फार्मेसी तथा चिकित्सक र स्वास्थ्यकर्मी बस्नका लागि आवाससमेत निर्माण गरिएको छ।
माथिल्लो मुस्ताङ क्षेत्रमा हाल सामान्य उपचारका लागि स्वास्थ्य चौकी र स्वास्थ्य इकाइ मात्र रहेका छन्। विशेषज्ञ सेवा नहुँदा गम्भीर बिरामी पर्दा स्थानीयलाई करिब १०० किलोमिटर टाढाको जोमसोम पुग्नुपर्ने बाध्यता छ। कतिपय अवस्थामा त्यहाँबाट पनि सेवा नपुग्दा बिरामीलाई पोखरा वा काठमाडौँ लैजानुपर्ने अवस्था रहेको स्थानीय बताउँछन्।
लोमान्थाङ गाउँपालिकाका स्वास्थ्य संयोजक तेन्जिङ नर्बु गुरुङका अनुसार अस्पताल सञ्चालनका लागि आवश्यक जनशक्ति, उपकरण र अन्य पूर्वाधार अभाव भएकाले सेवा सुरु गर्न नसकिएको हो। सरकारले दरबन्दी र उपकरणको व्यवस्था गरिदिए अस्पताल सञ्चालन गर्न सकिने उनले बताए।
यसैबीच चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्रीले माथिल्लो मुस्ताङ भ्रमणका क्रममा अस्पतालका लागि आवश्यक उपकरण खरिद गर्न लागत अनुमान पठाउन निर्देशन दिएका थिए। त्यसअनुसार गाउँपालिकाले करिब डेढ करोड रुपैयाँ बराबरका उपकरण खरिदका लागि विवरण प्रदेश सरकारलाई पठाइसकेको जनाएको छ।
हालसम्म उक्त प्रस्तावमाथि निर्णय नहुँदा अस्पताल सञ्चालन अझै अन्योलमा परेको स्वास्थ्य संयोजक गुरुङले बताए। उनका अनुसार अस्पताल भवन बजारभन्दा टाढा भएकाले तत्काल स्वास्थ्य चौकी स्थानान्तरण गरेर सेवा सञ्चालन गर्ने विषय पनि सहज हुन सकेको छैन।
स्थानीय नागरिक र पर्यटकलाई भरपर्दो स्वास्थ्य सेवा उपलब्ध गराउन निर्माण गरिएको अस्पताल सञ्चालनका लागि संघीय र प्रादेशिक सरकारको ध्यान जानुपर्ने स्थानीयको माग छ ।

