काठमाडौँ — पश्चिमी इराक मा अमेरिकी सेनाको इन्धन भर्ने सैन्य विमान दुर्घटनामा पर्दा चालक दलका सबै छ सदस्यको मृत्यु भएको छ।
अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) का अनुसार आकाशमै अन्य विमानलाई इन्धन भर्ने काममा प्रयोग हुने KC‑135 Stratotanker विमान पश्चिमी इराकमा खसेको हो। दुर्घटनामा शत्रुपक्ष वा आफ्नै सेनाको गोलाबारीको संलग्नता देखिने कुनै प्रमाण हालसम्म भेटिएको छैन। घटनाबारे अनुसन्धान भइरहेको सेन्टकमले जनाएको छ।
दुर्घटनामा दुईवटा विमान संलग्न रहेको बताइएको छ। तीमध्ये एउटा केसी–१३५ विमान खसेको हो भने अर्को विमान सुरक्षित रूपमा अवतरण भएको अमेरिकी पक्षले जनाएको छ।
पेन्टागनका अनुसार उक्त विमानमा सवार चालक दलका सबै छ सदस्यको मृत्यु भएको पुष्टि गरिएको छ। यससँगै पछिल्लो द्वन्द्वमा परी ज्यान गुमाउने अमेरिकी सैन्य अधिकारीको संख्या १३ पुगेको बताइएको छ।
यसअघि इरान समर्थित इराकी समूहहरूले भने क्षेप्यास्त्र प्रहार गरी विमान खसालेको दाबी गरेका थिए। इरान समर्थित गठबन्धन इस्लामिक रेजिस्टेन्ट इन इराकले उक्त केसी–१३५ विमान आफूहरूले निशाना बनाएको दाबी गरेको हो।
यद्यपि अमेरिकी सेनाले विमान शत्रुको आक्रमणका कारण खसेको संकेत नदेखिएको बताएको छ। मध्यपूर्व क्षेत्रमा जारी तनावका बीच उक्त घटनाको वास्तविक कारणबारे अनुसन्धान जारी रहेको सेन्टकमले जनाएको छ।

