काठमाडौँ — गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन काठमाडौँमा सुरु भएको छ। सम्मेलनको उद्घाटन समारोहमा संघका अध्यक्ष महेश श्रेष्ठले देशको विकासका लागि विदेशमा रहेका नेपालीको पुँजी, सीप र अनुभवलाई राज्यले प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।
नेपालको सिमानाभित्र मात्र नेपाल सीमित छ भन्ने परम्परागत सोच बदल्नुपर्नेमा जोड दिँदै उनले नेपालभित्रको नेपाल र नेपालबाहिरको नेपाललाई जोड्ने मुख्य काम एनआरएनएले गर्दै आएको दाबी गरे।
अध्यक्ष श्रेष्ठले विदेशमा रहेका करिब ८० लाख नेपालीको वार्षिक आम्दानी विदेशी मुद्रामा २० खर्ब रुपैयाँभन्दा बढी रहेको तथ्यांक प्रस्तुत गर्दै यस्तो ठूलो स्रोतलाई नेपालको विकासमा उपयोग गर्नुपर्ने बताए।
नेपालमा वैदेशिक लगानी भित्र्याउन अझै सहज वातावरण बन्न नसकेको उल्लेख गर्दै उनले नेपालको वर्तमान अवस्थालाई सन् १९७० को दशकको चीनसँग तुलना गरे। चीनले सुरुमा विदेशमा रहेका चिनियाँलाई सहुलियत दिएर उनीहरूमार्फत पुँजी, प्रविधि र काम गर्ने संस्कृति भित्र्याएपछि मात्रै सन् १९९० को दशकपछि अन्य विदेशी लगानीकर्ता आकर्षित भएको उदाहरण उनले स्मरण गरे।
सम्मेलन चैत २ गतेसम्म चल्ने छ। महाधिवेशनबाट संघको नयाँ नेतृत्व चयन हुने कार्यक्रम रहेको छ।
निर्वाचनमा ४ हजार २ सय ८६ प्रतिनिधिले भौतिक तथा अनलाइन माध्यमबाट सहभागिता जनाउने जनाइएको छ।

