काठमाडौँ । नेपाल विद्युत प्राधिकारणले आज काठमाडौँका विभिन्न क्षेत्रमा केही समय विद्युत् कटौती हुने जनाएको छ।
प्राधिकरणले सूचना जारी गर्दै गोठाटार र बत्तीसपुतली फिडरअन्तर्गत पर्ने स्थानमा विद्युत् आपूर्ति अवरुद्ध हुने जनाएको हो।
काठमाण्डौँको बानेश्वर वितरण केन्द्रको कार्यक्षेत्रमा पर्ने फिडरबाट वितरण हुने ११ केभी लाइन मर्मत गर्ने तयारी गरिएको प्राधिकरणले जनाएको छ।
जीर्ण अवस्थामा रहेका पोलको मर्मत तथा नयाँ पोल जडान गर्न बिहान ११ बजेदेखि दिउँसो १ः३० बजेसम्म पेप्सीकोला र टाउन प्लानिङ क्षेत्रमा विद्युत् कटौती हुने जनाइएको छ।
यस्तै, मध्य बानेश्वर, पुरानो बानेश्वर र बत्तीसपुतली क्षेत्रमा भने अपराह्न २ बजेदेखि ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने सूचनामा उल्लेख छ।
निर्धारित समयभन्दा अघि नै काम सकिएमा विद्युत् आपूर्ति नियमित रूपमा सञ्चालन गरिने प्राधिकरणले जनाएको छ।
विद्युत् कटौतीका कारण उपभोक्तामा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमासमेत मागेको छ।

