काठमाण्डौ । अमेरिकाले इरानी नेताहरू डराएर भूमिगत भएको दाबी गरिरहेका बेला इरानका राष्ट्रपतिसहित उच्च अधिकारीहरू तेहरानमा आयोजित कुद्स दिवसको र्यालीमा जनतासँगै सडकमा उत्रिएका छन्।
तेहरानमा शुक्रबार आयोजित कुद्स दिवस र्यालीमा इरानका राष्ट्रपति मसूद पेजेश्कियान, विदेशमन्त्री अब्बास अराघची, सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी तथा सर्वोच्च अदालतका प्रधान न्यायाधीश घोलाम–होसेन मोहसेनी–एजेईलगायत उच्च अधिकारी सहभागी भएका थिए।
अमेरिकी रक्षा मन्त्रालयका प्रमुख पिट हेगसेथले इरानी नेताहरू डराएर भूमिगत भएको दाबी गरिरहेकै बेला उनीहरू सार्वजनिक रूपमा र्यालीमा सहभागी भएका हुन्।
र्याली भइरहेका बेला आसपासका क्षेत्रमा बम विस्फोटका घटना भएको जनाइएको छ। विस्फोटमा एक जनाको मृत्यु भएको बताइएको छ।
विदेशमन्त्री अराघचीले तेहरानको र्यालीका तस्बिर र भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्दै इरानी जनताको दृढता र एकताको प्रशंसा गरेका छन्। उनले कुद्स दिवसका अवसरमा इरानी जनतासँग सहभागी हुन पाएकोमा गर्व लागेको उल्लेख गरेका छन्।
कुद्स दिवस प्यालेस्टाइनप्रति समर्थन व्यक्त गर्न र प्यालेस्टिनी भूभागमा इजरायली कब्जाको विरोध जनाउन प्रत्येक वर्ष मनाइने अन्तर्राष्ट्रिय दिवस हो। ‘अल–कुद्स’ यरुशलेम सहरको अरबी नाम हो।

