रौतहट । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रौतहटमा मतदान गरेका छन् ।
रौतहट–१ का उम्मेदवारसमेत रहेका नेपालले गौर नगरपालिका वडा नम्बर २ स्थित जानकी प्राथमिक विद्यालय केन्द्रबाट मतदान गरेका हुन् । मतदानपछि उनले मतदातालाई लोकतन्त्र सुदृढ गर्न सचेत र जिम्मेवार भएर मतदान गर्न आग्रह गरे ।
जिल्लामा मतदान शान्तिपूर्ण रूपमा भइरहेको प्रशासनले जनाएको छ । प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालका अनुसार रौतहटका चारवटै निर्वाचन क्षेत्रमा मतदान प्रक्रिया व्यवस्थित रूपमा अघि बढिरहेको छ ।
रौतहटमा कुल २७७ मतदानस्थल र ५४१ मतदान केन्द्र कायम गरिएको छ । सबै केन्द्रमा सुरक्षाको उचित व्यवस्था गरिएको र मतदाताको उल्लेख्य सहभागिता देखिएको प्रशासनले जनाएको छ ।
