काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी (जसपा) एकीकरण पक्षधर समूहबीच ऐतिहासिक पार्टी एकता घोषणा गरिएको छ। एकता प्रक्रियालाई औपचारिकता दिनुअघि नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह–संयोजक माधवकुमार नेपाल र जसपाका एकीकरण पक्षधर नेता राजेन्द्र प्रसाद श्रेष्ठबीच १० बुँदे सहमति सम्पन्न भएको थियो।
आज प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममार्फत जनता समाजवादी पार्टी एकीकरण पक्षधर समूह, जनजागरण पार्टी नेपाल, नेकपा (बहुमत) बाट विद्रोही समूह र नेकपा (माओवादी) बाट विद्रोही समूह नेकपामा औपचारिक रूपमा एकीकृत भएका छन्। एकता घोषणाका लागि तयार पारिएको सहमतिपत्रमा नेकपाका संयोजक प्रचण्ड, सह–संयोजक माधवकुमार नेपाल र जसपाका तर्फबाट संघीय परिषद् अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले हस्ताक्षर गरेका छन्।
चारवटा घटकको सहभागितामा भइरहेको एकता सभा अहिले पनि जारी छ। नेताहरूले नयाँ राजनीतिक ध्रुवीकरण र प्रगतिशील परिवर्तनका एजेन्डामा सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

