११ मंसिर, काठमाडौं । धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका अनुसार नगर प्रमुख गोइतसँगै तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रकुमार सढान, लेखापाल सञ्जीनकुमार महतो, जिन्सी शाखा प्रमुख जुगलकिशोर यादव, कार्यपालिका सदस्यहरू धनेश्वर यादव, धर्मनाथ मण्डल, पल्टु कवारी, विनोद राम र समसुल मियाँ मोमिन विरुद्ध मुद्दा दायर गरिएको हो।
त्यसैगरी, इन्फ्रास्ट्रक्चर एस एन्ड बी बिल्डर्स प्रालि र सो कम्पनीका अध्यक्ष सन्तोषकुमार यादव विरुद्ध पनि मुद्दा दायर गरिएको छ।
२९ लाख ४४ हजार रुपैयाँ हानिनोक्सानीको आरोप
लग्मा बजारस्थित पोखरीको डिलमा माटो पुर्ने, घाट निर्माण र सौन्दर्यीकरण गर्ने एक आयोजनामा आपसी मिलेमतो गरी २९ लाख ४४ हजार १३७ रुपैयाँ हिनामिना गरिएको आयोगको आरोप छ।
उक्त परियोजनाका लागि दुई कम्पनीले प्रतिस्पर्धा गरेका थिए। सेट स्क्वायर कन्सट्रक्सन प्रालिले ४२ लाख ७४ हजार ५५१ रुपैयाँ र इन्फ्रास्ट्रक्चर एस एन्ड बी बिल्डर्स प्रालिले ७२ लाख २१ हजार ७३० रुपैयाँ बोल कवोल गरेको थियो । न्यूनतम बोलकबोल गरिएको कम्पनीलाई ठेक्कासम्झौता गर्नुपर्नेमा बढी रकम बोलकबोल गर्ने कम्पनीलाई ठेक्का दिएर यत्रो परिणामको रकम अपचलन गरिएको थियो ।
७५ लाख रुपैयाँ अनुमानित लागत भएको योजनामा कम कबोल गर्ने सेट स्क्वायरलाई जिम्मा दिनुपर्नेमा, मिलेमतो गरी उच्च कबोल उठाउने इन्फ्रास्ट्रक्चर एस एन्ड बी बिल्डर्सलाई जिम्मा दिइएकाले सार्वजनिक सम्पत्तिमा ठुलो हिनामिना भएको निष्कर्ष आयोगले निकालेको छ।
आरोप प्रमाणित भएकाले अभियुक्तहरूका नाममा जनही २९ लाख ४४ हजार १३७ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरिएको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।

