काठमाडौं । राजधानीको पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक स्थानमा अवाञ्छित गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले २० विदेशी महिलालाई नियन्त्रणमा लिएको छ।
काठमाडौँ महानगरपालिका–२६ स्थित ठमेल फायरचोक आसपासको सार्वजनिक सडकखण्डबाट उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ परेका सबै महिला युगाण्डाका नागरिक रहेको बुझिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार ती महिलाले स्वदेशी तथा विदेशी पर्यटक तथा सर्वसाधारणलाई बाटोमै रोकी अनुचित रूपमा मोलमोलाइ गर्दै दुःख हैरानी दिने गतिविधि गरिरहेको उजुरीपछि कारबाही गरिएको हो।
उनीहरूलाई अभद्र व्यवहारसम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट १२ दिनको म्याद थप अनुमति लिई प्रहरी वृत्त लैनचौर मार्फत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

