काठमाडौँ । राष्ट्रिय पञ्जीकरणसम्बन्धी सूचनाहरू नागरिक एपमा एकीकृत गर्ने प्रक्रिया अघि बढाइएको छ। जन्म दर्ता, विवाह दर्ता, सम्बन्धविच्छेद दर्तालगायतका विवरणलाई एकीकृत प्रणालीमा आबद्ध गर्ने प्रारम्भिक काम सुरु गरिएको सूचना प्रविधि विभागका महानिर्देशक श्रीचन्द्र साहले बताएका छन्।
उनका अनुसार अहिले तथ्याङ्क एकीकरणको प्रारम्भिक चरण चलिरहेको छ र छिट्टै कार्यान्वयनमा ल्याउने तयारी भइरहेको छ। प्रणाली एकीकृत भएपछि जन्मदर्ता, विवाह दर्ताजस्ता प्रमाणपत्र नागरिक एपमार्फतै उपलब्ध हुनेछन्।
डिजिटल सुशासनलाई सुदृढ बनाउने लक्ष्यसहित सरकारले नागरिक सेवा अनलाइनमार्फत उपलब्ध गराउने अभियानलाई तीव्र बनाएको छ। यसअन्तर्गत निजामती कर्मचारीको व्यक्तिगत विवरण, लोक सेवा आयोगका परीक्षार्थीको प्रवेशपत्र तथा वैदेशिक अध्ययनका लागि आवश्यक ‘नो अब्जेक्सन सर्टिफिकेट (एनओसी)’ समेत नागरिक एपबाट प्राप्त गर्न सकिने व्यवस्था अन्तिम चरणमा पुगेको जनाइएको छ।
त्यसैगरी, नेपाल इन्जिनियरिङ परिषद्सँगको सहकार्यमा व्यावसायिक इन्जिनियर प्रमाणपत्रसमेत नागरिक एपमै उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्ययोजनाअनुसार ४५ दिनभित्र थप सेवा सञ्चालनमा ल्याउने लक्ष्य राखिए पनि सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले तोकिएको समयभन्दा अगावै काम सम्पन्न गर्न निर्देशन दिएका छन्। सोहीअनुसार विभागले विभिन्न निकायसँग समन्वय गर्दै प्रणाली विकास र परिमार्जनलाई तीव्र बनाएको छ।
मन्त्रिपरिषद्ले चैत १३ गते स्वीकृत गरेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’को बुँदा नम्बर ३५ मा समेत यो विषय समेटिएको छ। हाल नागरिक एपमार्फत प्रहरी चारित्रिक प्रमाणपत्र (पुलिस क्लियरेन्स रिपोर्ट) डाउनलोड गर्ने सुविधा भने कार्यान्वयनमा आइसकेको छ।
नयाँ सेवाहरू थपिएसँगै नागरिक एपलाई ‘वन–स्टप डिजिटल सेवा प्लेटफर्म’का रूपमा विकास गर्ने सरकारको लक्ष्य अझ सशक्त हुने अपेक्षा गरिएको छ। डिजिटल सेवाको विस्तारले सेवाग्राहीलाई समय, लागत र झन्झटबाट राहत दिने तथा सेवा प्रवाहलाई थप पारदर्शी, प्रभावकारी र आधुनिक बनाउने विश्वास गरिएको छ।

