काठमाडौं । राष्ट्रियसभाअन्तर्गत रिक्त रहेका चार समितिका सभापति निर्विरोध चयन भएका छन्। आज सम्बन्धित समितिहरूमा ज्येष्ठ सदस्यको अध्यक्षतामा बसेको बैठकले दलहरूबीचको सहमतिका आधारमा एक–एक उम्मेदवार प्रस्ताव गर्दै सर्वसम्मत रूपमा नेतृत्व चयन गरेको हो।
निर्विरोध रूपमा चयन हुनेहरूमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा पूजा चौधरी, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा जयन्तीदेवी राई, विकास, आर्थिक मामिला तथा सुशासन समितिमा कृष्णप्रसाद पौडेल तथा विधायन व्यवस्थापन समितिमा कृष्णबहादुर रोकाया रहेका छन्।
राष्ट्रियसभाका सचिव तुलबहादुर कँडेलका अनुसार चौधरीको प्रस्तावकमा मदनकुमारी शाह (गरिमा) तथा समर्थकमा युवराज शर्मा र रुक्मिणी कोइराला रहेका थिए। राईको प्रस्तावक सोनाम गेल्जेन शेर्पा तथा समर्थक दुर्गाकुमारी गुरुङ रहेका छन्। त्यसैगरी, पौडेलको प्रस्तावक नारायणदत्त भट्ट र समर्थक जगत तिमिल्सना तथा रोकायाको प्रस्तावक आनन्दप्रसाद ढुङ्गाना र समर्थक गीता देवकोटा रहेका थिए।
सभापतिका लागि प्रस्ताव प्रस्तुत गर्ने क्रममा दलहरूले सहमतिको राजनीति, विधिको शासन र लोकतान्त्रिक अभ्यासलाई मजबुत बनाउने उद्देश्यले साझा समझदारीका आधारमा उम्मेदवारी दिएको बताएका छन्।
उल्लेखनीय छ, यी समितिहरूका सभापति पद गत फागुन २० गतेदेखि रिक्त रहँदै आएका थिए।
Previous Articleचैत्र २४ ले देखाएको परिमार्जित बाटोमा अघि बढौं !
Next Article अमेरिका-इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता

