काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नयाँ बर्षबाट रात्रिकालीन बस सेवा सञ्चालनमा ल्याएको छ। साझा यातायातसँगको सहकार्यमा मंगलबार साँझ ७ः०० बजेदेखि पुल्चोकबाट सेवा शुभारम्भ भएको कामपाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले जानकारी दिइन्।
उनका अनुसार पहिलो चरणमा लगनखेल–बूढानीलकण्ठ र थानकोट–एयरपोर्ट रुटमा विद्युतीय बस सञ्चालन भएका छन्।
लगनखेलबाट पाटन अस्पताल, अल्का, नर्भिक, प्रसूतिगृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ अस्पताल र गङ्गालाल हृदय केन्द्र हुँदै बूढानीलकण्ठसम्म करिब १६ किलोमिटरको एकतर्फी रुट तय गरिएको छ।
त्यसैगरी थानकोटबाट सतुङ्गल, कलङ्की, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन र तीनकुने हुँदै अन्तरराष्ट्रिय विमानस्थलसम्म करिब २० किलोमिटरको एकतर्फी रुट सञ्चालनमा रहेको छ। यी दुई रुटमा चारवटा रात्रिकालीन विद्युतीय बस सञ्चालन गरिएको महानगरले जनाएको छ।
“बेलुका ८ बजेपछि सार्वजनिक यातायात अभाव हुँदा महँगो भाडामा यात्रा गर्नुपर्ने बाध्यता हटाउन यो सेवा सुरु गरिएको हो,” डङ्गोलले भनिन्। उनले विशेषगरी महिला, किशोरी र विद्यार्थीलाई यस सेवाले सहज सुविधा दिने विश्वास व्यक्त गरिन्।
सेवा प्रारम्भसँगै साँझदेखि राति ११ बजेसम्म बस सञ्चालन हुनेछ भने तोकिएका बसस्टपमा हरेक २० मिनेटमा बस उपलब्ध हुनेछ। यात्रु सुरक्षाका लागि बसमा सिसिटिभी जडान गरिएको र नगरप्रहरी समेत परिचालन गरिएको महानगरले जनाएको छ।
महानगरले यस सेवालाई आधुनिक, सुरक्षित, सहज र दिगो सार्वजनिक यातायात प्रणालीका रूपमा विकास गर्ने लक्ष्य राखेको छ।

