काठमाण्डौ। भक्तपुरको प्रसिद्ध बिस्का जात्राको पाँचौँ दिन सोमबार साँझ भेलुखेलस्थित यसीँख्योमा ५५ हात लामो यसीँ (लिङ्गो) ढाल्ने जात्रा सम्पन्न भएको छ।
पुरानो वर्षको बिदाइ र नयाँ वर्षको आगमनको अघिल्लो दिन उठाइएको लिङ्गोलाई आज तान्त्रिक विधिपूर्वक पूजाआजा गरी साँझ ५ः४९ बजे ढालिएको हो। भैरवनाथको प्रतीक मानिने उक्त लिङ्गोमा बाँधिएका अष्टमातृकाका प्रतीक आठ वटा डोरी फुकाएर चारैतिरबाट तानातान गरी ढाल्ने परम्परा रहेको छ। लिङ्गो ढाल्ने कार्यलाई बिस्का जात्राको मुख्य आकर्षणका रूपमा लिइन्छ।
यसपछि तलेजुभित्र दुमाजुको विशेष पूजाआजा गरिने र यसीँख्योस्थित भैरव तथा भद्रकालीका रथलाई गःहिटि पुर्याई रथ जुधाउने जात्रा सम्पन्न गरिन्छ।
यो जात्रा अवलोकन गर्दा सुख, समृद्धि र सहकाल आउने तथा शत्रु नाश हुने धार्मिक विश्वास रहेकाले यसलाई ‘शत्रुहन्ता जात्रा’ समेत भन्ने गरिन्छ।

