काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका–३ गौजेनीमा सडक विस्तारका क्रममा खसेको पहिरोमा पुरिएर एक जनाको ज्यान गएको छ भने अर्का एक व्यक्ति अझै बेपत्ता छन्।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार गौजेनीस्थित मैदानबाट लप्से जोड्ने सडकखण्ड विस्तार भइरहेका बेला माथिबाट खसेको पहिरोमा परी स्थानीय ३५ वर्षीय फूलमान तामाङको घटनास्थलमै मृत्यु भएको हो।
उक्त घटनामा सडक विस्तार कार्यमा संलग्न ललितपुरका २४ वर्षीय स्काभेटर चालक अमृत तामाङ भने पहिरोमा पुरिएर बेपत्ता भएका छन्।
बेपत्ता तामाङको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासी संयुक्त रूपमा खटिएका छन्। प्रहरीका अनुसार तामाङ केही दिनअघि मात्रै स्काभेटर सञ्चालनका लागि नुवाकोट आएका थिए।
नोट: प्रयुक्त तस्विर सम्बन्धित नभएको सूचित गरिन्छ। -सम्पादक

