काठमाडौँ । पाटन स्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट दाजुभाइको हत्या भएको छ।
चक्कु प्रहारबाट ३३ वर्षीय सुमित नेम्बाङ र उनका २६ वर्षीय भाइ सिर्जन नेम्बाङको मृत्यु भएको हो। गम्भीर घाइते भएका उनीहरूलाई बीएन्डबी अस्पताल लगिएको थियो, जहाँ उपचारकै क्रममा उनीहरूको निधन भएको ललितपुरका प्रहरी प्रमुख एसएसपी होविन्द्र बोगटीले जानकारी दिए ।
घटनामा संलग्न दुई जनालाई प्रहरीले भाग्दै गरेको अवस्थामा पक्राउ गरेको जनाएको छ।
प्रहरीका अनुसार बुधबार साँझ नेम्बाङ दाजुभाइले गरेको फोन संयोगवश सञ्जीव नेपालीको मोबाइलमा पुगेको थियो। एकअर्कालाई नचिनेका उनीहरूबीच फोनमै विवाद सुरु भएको र क्रमशः बढ्दै गएको बताइएको छ।
विवाद बढेपछि सञ्जीवले उनीहरूलाई पाटन आउन भनेका थिए। त्यसपछि इमाडोलबाट पुगेका नेम्बाङ दाजुभाइलाई सञ्जीव नेपालीले मासु पसलमा प्रयोग हुने धारिलो हतियार प्रयोग गरी आक्रमण गरेका थिए।

