काठमाडौँ। काठमाडौँ महानगरपालिका–१५ सानो भ¥याङस्थित यातायात व्यवस्था कार्यालयमा सक्रिय बिचौलियामाथि प्रहरीले कारबाही गरेको छ।
सेवाग्राहीलाई सवारी दर्ता किताब (बिलबुक) नवीकरण गरिदिन्छु भन्दै अनियमितता गर्दै आएको आरोपमा सात जनालाई नियन्त्रणमा लिइएको हो।
प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले मंगलबार अपराह्न उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा रौतहटका ३६ वर्षीय बलबहादुर सुनार, रामेछापका ३९ वर्षीय विज्ञान राई, काठमाडौँका ३१ वर्षीय सञ्जय राजवाहक र ३६ वर्षीय विमल तामाङ, रामेछापका ३५ वर्षीय रमेश कार्की, धादिङकी ३६ वर्षीया कल्पना लम्साल तथा नुवाकोटका ३९ वर्षीय उद्धव खनाल रहेका छन्।
प्रहरीका अनुसार उनीहरूले सार्वजनिक सेवा प्रवाहमा अवरोध पुर्याउँदै सेवाग्राहीबाट रकम असुल्ने कार्य गर्दै आएका थिए।
उनीहरूको साथबाट रु एक लाख २२ हजार नगद र ५३ थान बिलबुक बरामद गरिएको छ।
घटनाले यातायात सेवामा बिचौलिया समस्याको यथार्थ फेरि उजागर गरेको छ भने सम्बन्धित निकायले यस्ता गतिविधि नियन्त्रणमा थप कडाइ गर्नुपर्ने आवश्यकता देखिएको छ।

