काभ्रेपलाञ्चोक —गत साताको बाढीले क्षतिग्रस्त बनाएको बीपी राजमार्ग आजदेखि पुनः सञ्चालनमा आएको छ।
अस्थायी सडक निर्माण कार्यलाई तीव्रता दिइँदै १९ स्थानमा डाइभर्सन तयार पारिएपछि बाढीले अवरुद्ध गरेको राजमार्ग फेरि खुला भएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ।
शुक्रबार साँझ क्षतिग्रस्त सम्पूर्ण खण्डमा ट्र्याक खोलेर परीक्षण गरेपछि शनिबार बिहानदेखि राजमार्ग पूर्ण रूपमा सञ्चालन भएको हो।
रातको समयमा समेत कामलाई निरन्तरता दिइँदा बिहानैदेखि सवारीसाधन चल्न थालेका हुन्।
कार्यालयका प्रमुख, सिनियर डिभिजनल इञ्जिनियर सुमन योगेशका अनुसार,
“चार दिनदेखि लगातार मेसिन र जनशक्ति परिचालन गर्यौं, ट्र्याकको अवस्था परीक्षण गरेर आवश्यक सुधारपछि आज बिहानबाट राजमार्ग पूर्णरूपमा चलायमान भएको छ,” उनले भने।
१६ ठाउँ काभ्रेपलाञ्चोकमा, ३ ठाउँ सिन्धुलीमा डाइभर्सन
शुक्रबार साँझसम्ममा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–६ चौकीडाँडादेखि रोशी गाउँपालिकाको माम्तीसम्मको खण्डमा ट्र्याक खुलाइएको थियो।
कार्यालयका अनुसार राजमार्गका १६ स्थान काभ्रेपलाञ्चोकमा र ३ स्थान सिन्धुलीमा डाइभर्सन निर्माण सम्पन्न गरिएको छ।
काभ्रेको चौकीडाँडा, कटुञ्जे–घुमाउने, चारसयबेँसी, गिम्दीबेँसी, नार्के, चिउरीबास, बोक्सीकुना, कालढुङ्गा, डालाबेँसी, पिप्लेका चार स्थान र माम्तीका दुई स्थानमा डाइभर्सन निर्माण गरी राजमार्ग सञ्चालन गरिएको हो।
काभ्रेपलाञ्चोकको सडकखण्डमा खोलाको प्रवाहलाई मोडेर अस्थायी बाटो बनाइएको छ।
रातभर चलेको काम, बिहानको उपलब्धि
मंगलबारदेखि औपचारिक रूपमा थालिएको डाइभर्सन निर्माण कार्यमा
बिहीबार दिउँसोदेखि रातभर करिब दुई दर्जन मेसिन परिचालन गरिएका थिए।
रातको समयमा पनि इञ्जिनियर र मजदुरहरूको टोलीले काम निरन्तर जारी राखेपछि शुक्रबार साँझ ट्र्याक खुलाउन र शनिबार बिहान राजमार्ग सञ्चालनमा ल्याउन सम्भव भएको हो।
“पहिले केही सवारीसाधनबाट परीक्षण गर्यौं, साँघुरा स्थानमा रातभर काम गरेर सुधारपछि आज बिहानदेखि राजमार्ग पूरै खुल्यो,” इञ्जिनियर योगेशले भने।
चार किलोमिटर सडक कटान, तर आशा बाँकी
रोशी खोलाको बाढीले रोशी क्षेत्रमा करिब चार किलोमिटर सडक कटान गरेको थियो।
त्यो भाग अहिले अस्थायी रूपमा पुनर्स्थापित भएको छ।
सडक कार्यालयका अनुसार बाढीपहिरोले यो वर्ष १७ स्थानमा क्षति पुर्याएको थियो ।
गत वर्ष पनि यही क्षेत्रमा बाढीपहिरोको असर परेपछि अस्थायी डाइभर्सन बनाएर सडक सञ्चालन गरिएको थियो।
हाल खुलाइएको राजमार्ग अस्थायी रूपमा सञ्चालनयोग्य भए पनि, स्थायी पुनर्निर्माणका लागि विस्तृत योजना तयार पारिने कार्यालयले जनाएको छ।