काठमाडौं क्षेत्र नं. १ बाट प्रेसर कुकर चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिएका कुस्लभ के.सी. आफूलाई दलीय नियन्त्रणभन्दा बाहिर उभिएको स्पष्ट वैकल्पिक आवाजका रूपमा प्रस्तुत गर्छन्। महँगी, सहकारी पीडितको समस्या, बेरोजगारी र अव्यवस्थित शहरी जीवनजस्ता मुद्दालाई मुख्य एजेन्डा बनाएका के.सी. आम नागरिकले दैनिक भोगिरहेको ‘दबाब’ लाई राजनीतिमा केन्द्रमा ल्याउन चाहन्छन्। स्वतन्त्र निर्णय, स्वविवेकपूर्ण राजनीति र सुशासनप्रतिको प्रतिबद्धतासहित उनी काठमाडौं–१ का मतदातासामु परम्परागत दलभन्दा फरक र भरोसायोग्य विकल्पका रूपमा देखिएका छन्। टपटेन खबरका प्रतिनिधि सुधिर कर्माचार्यले स्वतन्त्र उम्मेदवार कुस्लभ के.सी. लिएको अन्तर्वार्ता ……
१. स्वतन्त्र उम्मेदवारको रूपमा काठमाडौं–१ बाट उम्मेदवारी दिने निर्णय किन र कसरी गर्नुभयो ?
जवाफः
दलीय आवरणभित्र रहेर स्वतन्त्र र स्वविवेकपूर्ण निर्णय लिन सकिँदैन भन्ने अनुभूति भएपछि मैले स्वतन्त्र उम्मेदवारी दिने निर्णय लिएको हुँ। आज प्रायः सबै दल कुनै न कुनै रूपमा सहकारी पीडकमाथि परेको आर्थिक दबाबमा रहेको देखिन्छ। मेरो व्यक्तिगत भोगाइ र बुझाइले पनि दलभन्दा बाहिर उभिएर जनताको पक्षमा स्पष्ट आवाज उठाउन सकिन्छ भन्ने निष्कर्षमा पुर्यायो, त्यसैले स्वतन्त्र उम्मेदवारीको बाटो रोजेँ।
२. प्रेसर कुकर चुनाव चिन्हलाई तपाईंले कुन सन्देश र अर्थसँग जोडेर लिनुभएको छ ?
जवाफः
एकातर्फ अस्वाभाविक र ढाड सेक्ने महँगीले आम जनता आक्रान्त छन् भने अर्कोतर्फ सहकारी पीडितहरूको चुल्हो बल्न छाडेको अवस्था छ। जीवनभर कमाएको बचत रकमको साँवा–व्याज त परै जाओस्, दैनिकी चलाउनसमेत समस्या परिरहेको छ।
प्रेसर कुकर आम नागरिकले दैनिक भोगिरहेको आर्थिक, सामाजिक र मानसिक ‘प्रेसर’ को प्रतीक हो। त्यसैले मतदाताको वास्तविक पीडाको संकेतस्वरूप मैले प्रेसर कुकर चुनाव चिन्ह रोजेको हुँ।
३. काठमाडौं–१ का मतदाताले अहिले सबैभन्दा ठूलो समस्या के भोगिरहेका छन् भन्ने तपाईंको बुझाइ के छ ?
जवाफः
काठमाडौं–१ राजधानीकै केन्द्रमा रहे पनि यहाँ खानेपानी, फोहोरमैला, ढल, अव्यवस्थित विद्युतीय तार, यातायात व्यवस्थापन र स्वास्थ्य सेवाका समस्या गम्भीर छन्। घना बस्तीका कारण खुला ठाउँ र पार्कको अभाव छ।
यसका साथै सहकारी पीडितको संख्या उल्लेख्य भएकाले उनीहरूको समस्या तत्काल समाधान गर्नु अत्यावश्यक छ। शहरी रोजगारीको उचित व्यवस्थापन पनि ठूलो चुनौती बनेको छ।
४. यदि निर्वाचित हुनुभयो भने पहिलो १०० दिनमा गर्न चाहनु भएका प्राथमिक कामहरू के–के हुन् ?
जवाफः
पहिलो १०० दिनमा फोहोरमैला व्यवस्थापन र सरसफाइसम्बन्धी गुनासोलाई प्रभावकारी ढंगले समाधान गर्ने, सहकारी पीडितहरूको तथ्यांक संकलन र अभिलेखीकरण गर्ने, घर–घरमा नियमित जनसुनुवाइ कार्यक्रम सञ्चालन गर्ने र स्थानीय समस्यालाई संसदमा तत्काल उठाउने काम मेरो प्राथमिकता हुनेछ।
५. ठूला राजनीतिक दल र तिनका उम्मेदवारभन्दा तपाईं किन फरक र विश्वासयोग्य विकल्प हुनुहुन्छ ?
जवाफः
ठूला दलका उम्मेदवारहरू आफ्ना दलका निर्णय र नियन्त्रणमा रहन बाध्य हुन्छन्। त्यसले स्वतन्त्र ढंगले जनताको पक्षमा काम गर्न समस्या पर्न सक्छ। तर स्वतन्त्र उम्मेदवार भएको नाताले म पूर्ण स्वविवेकमा निर्णय लिन सक्छु। यही कारण म दलका उम्मेदवारभन्दा फरक र विश्वासयोग्य विकल्प हुँ।
६. बेरोजगारी, महँगी र युवा पलायनजस्ता समस्यामा तपाईंको ठोस योजना के छ ?
जवाफः
काठमाडौं–१ मा शहरी रोजगारीका प्रशस्त सम्भावना छन्, तर त्यसतर्फ ध्यान पुगेको छैन। युवालाई सीपमूलक तालिम र उद्यमशीलतामा जोड्न सके युवा पलायन क्रमशः रोकिन्छ।
महँगी नियन्त्रणका लागि बजार अनुगमन प्रणाली सुदृढ बनाउने र कमजोर कानुनी संरचनालाई सुधार गर्ने पहल आवश्यक छ, जसका लागि म संसदमा सक्रिय भूमिका खेल्नेछु।
७. स्वतन्त्र उम्मेदवारलाई संसाधन र संगठनको अभाव हुन्छ भनिन्छ, यो चुनौतीलाई कसरी सामना गर्दै हुनुहुन्छ ?
जवाफः
इच्छाशक्ति भए संसाधन र संगठनको अभाव बाधा हुँदैन। आम जनता र मतदाताको विश्वास जित्न सके जस्तोसुकै चुनौतीको सामना गर्न सकिन्छ। मेरो सबैभन्दा ठूलो संगठन भनेकै सचेत मतदाता हुन्।
८. भ्रष्टाचार र सुशासनका सवालमा तपाईंको स्पष्ट प्रतिबद्धता र कार्ययोजना के छ ?
जवाफः
भ्रष्टाचार नियन्त्रण नै सुशासनको पहिलो शर्त हो। सुशासन आम जनताको साझा चाहना हो भन्ने मेरो दृढ विश्वास छ। त्यसैले भ्रष्टाचार निवारण र सुशासन स्थापनालाई मैले आफ्नो सम्पूर्ण राजनीतिक यात्राको सर्वोच्च लक्ष्य बनाएको छु।
९. संसदमा पुग्नुभयो भने तपाईं कुन खालको राजनीति गर्न चाहनुहुन्छ— सहकार्य, दबाब कि वैकल्पिक आवाज ?
जवाफः
उद्देश्य र एजेन्डा मिल्ने शक्तिसँग सहकार्य गर्नेछु। गलत निर्णयका विरुद्ध दबाब सिर्जना गर्नेछु। र देशको समग्र विकासका सवालमा आवश्यक परे वैकल्पिक आवाजलाई मजबुत रूपमा उठाउनेछु। यही मेरो राजनीतिक अभिष्ट हो।
१०. अन्त्यमा, काठमाडौं–१ का मतदातालाई तपाईं किन र के आधारमा मत दिन आग्रह गर्नुहुन्छ ?
जवाफः
पुराना दल र तिनको असफल अभ्यासबाट आजित मतदाताले अब विकल्प खोजिरहेका छन्। म कुनै दलको होइन, सिधै जनताको उम्मेदवार हुँ। स्वार्थ, दबाब र सम्झौताबाट मुक्त भएर जनताको आवाज संसदसम्म पुर्याउन चाहन्छु। यही विश्वासका आधारमा प्रेसर कुकर चुनाव चिन्हमा मतदान गर्न म काठमाडौं–१ का मतदातालाई आग्रह गर्दछु।

