काठमाडौं असार ३२
कहिले काहीँ सानो प्रयासले ठूलो आवाज दिन्छ। ठूला पर्दामा देखिने चकाचक झिल्काभन्दा बाहिर पनि यस्ता सिर्जनाहरू हुन्छन्, जसले मन छुन सक्छ, चेतना जगाउन सक्छ। ‘अटिजम’ त्यस्तै एउटा चलचित्र हो, जसले हलको भीडभन्दा अलग, युट्युबको सस्तो पर्दामै एउटा गहिरो सन्देश ल्याउन खोजेको छ।
यो चलचित्र कुनै सामान्य मनोरञ्जनको भरमा उभिएको छैन। साहित्यिक पत्रकार निबन्ध आचार्यको कथा, भावना र जीवनप्रतिको दृष्टिकोण यसमा पसिएको छ। कपन–बानेश्वर साहित्यिक साप्ताहिकको तेह्रौं वार्षिकोत्सवको अवसर पारेर आउने चलचित्र हो यो। ‘कपन बानेश्वर साहित्यिक’ युट्युब च्यानलबाट साउन ५ गते सोमबार २ बजे सार्वजनिक हुँदैछ।
कथा–कलाकार–कला: सबैतिर साहित्य
चलचित्रमा देखिने अनुहारहरू चिरपरिचित टेलिभिजन वा चलचित्रका सेलिब्रेटी हैनन्, तर तिनको हृदयमा समाज छ, लेखनीमा गहिरो दृष्टिकोण छ। विक्रम श्रेष्ठ ‘सागर’, गङ्गा पौडेल, प्रा.डा. रामप्रसाद ज्ञवाली, वेदमणि घिमिरे, प्रभा श्रेष्ठ, राजबाबु श्रेष्ठ, दिवाकर शाहजस्ता नामहरु, जसले साहित्यका गल्लीमा गहिरो पाइला टेकिसकेका छन्, अब पर्दामा देखिँदैछन्।
अझ रमाइलो त के भने, चलचित्रमा अटिजम भएका बालक ‘सम्मान आचार्य’ स्वयंले पनि अभिनय गरेका छन्। वास्तविकता पर्दामा ल्याउने यति प्रामाणिक कोसिस धेरै कम देख्न पाइन्छ।
अटिजम र पलायन: दुइटा मौन चिच्याहट
चलचित्रको मूल कथावस्तु अटिजमबारे जनचेतना फैलाउने हो। तर त्यति मात्रै होइन, यसमा अर्को यथार्थ जोडिएको छ— विदेश पलायन। आजका युवाहरूको सपना विदेशी सहरमा हराइरहेको छ। उनीहरूको पृष्ठभूमिमा बाँकी रहने संवेदनशीलता, परिवारको कथा, र जीवनको अपूर्णता चलचित्रमा चित्रित गरिएको छ।
सङ्गीत र निर्देशनमा केशव सान्दाइ, पटकथा र संवादमा विक्रम श्रेष्ठ सागर, छायांकनमा तिलक गौतम, र नृत्य निर्देशनमा दीपक तामाङ रहेको चलचित्र, व्यावसायिक सिनेमाका झिल्काबाट अलग तर जीवनका भित्री तहहरू छुन चाहन्छ।
हल हैन, युट्युब किन?
“ठूला कम्पनीको ध्यान नयाँ सिर्जनातर्फ छैन,” निर्देशक सान्दाइ भन्छन्, “र हलको खर्च सबैका लागि सम्भव पनि हुँदैन। तर सन्देश फैलाउन पर्दा चाहिन्छ, दर्शकको आँखा चाहिन्छ। त्यसैले हामी युट्युबमा आएका छौं।”
उनको अनुरोध छ, ‘kapan baneshwor sahityik’ युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनुहोस्, हेर्नुहोस्, र अरूलाई पनि देखाउनुहोस्। सायद कसैको बुझाइ बदलिन सक्छ, कसैको हृदय छुन सकिन्छ।

