काठमाडौँ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले छैटौँ इमर्जिङ एसिया इन्स्योरेन्स कन्क्लेभ एण्ड अवार्ड्स–२०२५ मा ‘बेस्ट स्ट्राटेजिज फर इन्स्योरेन्स कभरेज फर द इयर (नेपाल)’ विधातर्फ प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ।
थाइल्याण्डको बैंककमा सम्पन्न उक्त कार्यक्रम इन्डियन चेम्बर अफ कमर्स (ICC) द्वारा आयोजना गरिएको हो। कार्यक्रममा एसियाका उदाउँदा बीमा बजारहरूमा नवप्रवर्तन, रणनीतिक प्रभाव, बीमा पहुँच विस्तार तथा ग्राहक–केन्द्रित पहलहरूको मूल्याङ्कन गरी अवार्ड प्रदान गरिएको हो ।
यस विधामा सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडको छनोट हुनु कम्पनीले अवलम्बन गरेको दीर्घकालीन, समावेशी र व्यवहारिक बीमा रणनीतिहरूको स्पष्ट प्रतिबिम्ब भएको जनाइएको छ।
अवार्ड ग्रहण गर्दै कम्पनीका अध्यक्ष रतनलाल केडियाले अन्तर्राष्ट्रिय सम्मान प्राप्त हुनु कम्पनीका लागि गौरवको विषय भएको बताए।
उनले यो अवार्ड कम्पनीको रणनीतिक सोच, टिमको समर्पण तथा ग्राहक–केन्द्रित दृष्टिकोणको मान्यता भएको उल्लेख गर्दै सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स सधैँ बीमालाई सरल, पहुँचयोग्य र विश्वासिलो बनाउने उद्देश्यमा केन्द्रित रहँदै आएको बताए।
यस उपलब्धिप्रति प्रतिक्रिया दिँदै कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले प्राप्त अन्तर्राष्ट्रिय अवार्डले सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सलाई नेपालमा मात्र नभई एसियाली बीमा बजारमा समेत एक सक्षम, रणनीतिक र भरोसायोग्य जीवन बीमा कम्पनीका रूपमा थप सुदृढ बनाएको बताए।
अवार्ड कार्यक्रममा नेपालसहित भारत, बंगलादेश, भुटान, श्रीलंका, म्यानमार र थाइल्याण्डका बीमा क्षेत्रका वरिष्ठ प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमले एशियाली बीमा उद्योगमा सहकार्य, ज्ञान आदान–प्रदान तथा ग्राहक–केन्द्रित नवप्रवर्तन प्रवर्द्धन गर्ने उद्देश्य राखेको आयोजकले जनाएको छ।
