बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा रुपन्देही व्यापार संघको सहयोगमा अस्पतालमा रक्तसञ्चार केन्द्र सञ्चालन गरिएको छ ।
रुपन्देही व्यापार संघको सहयोगमा एक करोड ५८ लाख २० हजार लागतमा उपकरण खरिद गरि सेवा केन्द्र सञ्चालन गरिएको हो ।
संघको उपकरण सहयोग तथा अस्पतालको व्यवस्थापनमा सञ्चालन हुने रक्तसञ्चार केन्द्रमा शनिबार दुई सय ९७ जनाले रक्तदान गरेका छन् । केन्द्रको समुद्घाटन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बिरामीलाई नयाँ जीवन प्रदान गर्न रक्तदान नै महादान भएकाले यस प्रकारको दानमा जोडिन सबैमा आह्वान गर्नुभयोे ।
अस्पतालले अन्य स्वास्थ्य संस्थाहरुमा समेत रगत उपलब्ध गराउन सक्ने क्षमतासहित रक्तसञ्चार केन्द्र स्थापना भएको बताउँदै दीर्घकालीन सञ्चालनमा जोड दिनुभयो । मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले सबै बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउने कार्यक्रम अघि सारे पनि निजी र सामुदायिक अस्पतालमा उपचार गराइरहेका बिरामीलाई रगत उपलब्ध गराउन केही कानुनी जटिलता रहेको र त्यसलाई फुकाउने गरी सरकारले ध्यान दिइरहेको उल्लेख गर्नुभयोे ।
लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले लुम्बिनी प्रादेशिक अस्पताललाई सरकारले बुटवल मात्रै नभई सिंगो प्रदेशको आर्थिक आधारको रुपमा लिएको बताउनु भयो । अस्पतालको स्तरोन्नति र गुणस्तरीय सेवा प्रवाहमा भएका प्रगतिले पनि यस तथ्यलाई प्रमाणित गर्ने उल्लेख गर्नुभयोे । अस्पतालमा निर्माणाधीन भवनको काम सम्पन्न गर्न ६ अर्बबढी लगानी लाग्ने बताउँदै उहाँले यसका लागि आवश्यक स्रोत व्यवस्थापन र कार्यान्वयनमा सरकार गम्भीर रहेको उल्लेख गर्नुभयो । रुपन्देही व्यापार संघका अध्यक्ष दीपक अधिकारीले अस्पतालमा रक्तसञ्चार केन्द्र स्थापनासँगै अब सञ्चालनको सम्पूर्ण जिम्मेवारीमा अस्पतालले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

