तुलसीपुर । दाङ जिल्लास्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि कूल ७६ पदकसहित तुलसीपुर उपमहानगरपालिकाले हात पारेको छ ।
यसअघि १४ औं दाङ जिल्लास्तरीय प्रतियोगितामा द्वितीय स्थान हासिल गरेको तुलसीपुर बिहीबारदेखि बेलझुण्डी रंगशालामा सञ्चालित प्रतियोगितामा ३२ स्वर्ण, २२ रजत र २२ काँस्य पदकसहित पहिलो भएको हो । त्यस्तै अघिल्लो प्र्रतियोगितामा प्रथम स्थान हासिल गरेको घोराहीले प्रतियोगितामा दोस्रो स्थानमा चित्त बुझाउनुप¥यो । २० स्वर्ण, १६ रजत र १६ काँस्य पदकसहित घोराही उपमहानगरपालिकाले प्रतियोगितामा द्वितीय स्थान हासिल गरेको छ ।
प्रतियोगिताको तेस्रो स्थान शान्तिनगर गाउँपालिकाले प्राप्त गरेको छ । पाँच स्वर्ण, छ रजत र १४ काँस्य पदकसहित शान्तिनगर तेस्रो भएको हो । त्यस्तै तीन स्वर्ण, १० रजत र आठ काँस्य पदक गरी २१ पदकसहित राप्ती गाउँपालिका प्रतियोगिताको चौथो स्थानमा छ भने दुई स्वर्ण, चार रजत र १० काँस्य गरी १६ पदक प्राप्त गरेको गढवा पाँचौं स्थानमा समेटिएको छ । बंगलाचुलीले दुई स्वर्ण, तीन रजत र तीन काँस्य गरी आठ पदक जितेको छ । त्यस्तै बबई र राजपुर गाउँपालिकाले एक÷एक स्वर्ण मात्रै हात पारेका छन् भने दंगीशरण र लमहीले स्वर्ण पदक जित्न सकेनन् । बबईले एक स्वर्ण र तीन काँस्य गरी चार पदक, राजपुरले एक स्वर्ण र एक रजतसहित दुई पदक, लमहीले तीन रजत र १२ काँस्य गरी १५ पदक प्राप्त गरेको छ भने दंगीशरणले तीन काँस्य पदक मात्रै प्राप्त गरेर अन्तिममा रहेको छ ।
शनिबार नै प्रतियोगिताको उपाधि प्रदान गरिएको छ ।
समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले प्रतिकूल मौसममा खेलाडीले खेल प्रदर्शन गर्नुपरेको भन्दै आगामी दिनमा बेलझुण्डी रंगशालामा हाइमाष्ट लाइटको व्यवस्था गरेर रातको समयमा खेल खेल्न मिल्ने वातावरण बनाइने बताउनुभयो । साथै उहाँले स्वास्थ्य र पहिचानको सशक्त माध्यम खेलकूद भएको महसुस गर्दै आगामी बजेटमा तुलसीपुरले खेलकूदलाई प्राथमिकता दिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । प्रतिस्पर्धामा उत्रिदा उत्कृष्ट हुने सोच राख्नु स्वाभाविक तर परिणाम स्वीकार्नु खेलको नियम र अनुशासन भएको भन्दै खेलाडीहरुलाई नतिजाबाट निराश र उत्ताउलो नबन्न आग्रह गर्नुभयो ।
सो अवसरमा बोल्दै दशौं राष्ट्रिय खेलकूदको अन्यौलताका कारण माघमा हुनुपर्ने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जेठमा गर्नुपरेको प्रदेश खेलकूल परिषद् लुम्बिनीका सदस्य सचिव तिरनदाज गौतमले बताउनुभयो । उहाँले भन्नुभयो– ‘दशौं राष्ट्रिय खेलकूद अहिले नहुने भएपछि १५ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु गरेका थियौं । केही ढिला हुुँदा खेलाडीहरुलाई प्रतिकूल मौसममा प्रतिस्पर्धा गर्नुप¥यो । आगामी दिनमा सुधार्नेछौं ।’
साथै आगामी २३, २४ र २५ गते लुम्बिनी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बेलझुण्डी रंगशालामा सञ्चालन हुने उहाँले जानकारी दिनुभयो ।
दाङ जिल्ला खेलकूद विकास समितिका कार्यालय प्रमुख राकेश परियारको अध्यक्षतामा भएको कार्यक्रममा दाङ जिल्ला खेलकूद विकास समितिका पूर्वअध्यक्ष हुकुमबहादुर बस्नेत, प्रदेश खेलकूद परिषद् लुम्बिनीका सदस्यहरु कल्पना आचार्य, मुक्तिप्रसाद न्यौपानेलगायतले बोल्नुभएको थियो ।

