‘कवि हुनु बलिया र निर्धाहरूको लडाइँमा
बलियाहरूलाई ललकारेर
निर्धाहरूलाई ढोग्नु हो ।’कवि भूपी शेरचनको कविता छ । कविता लेखेर यस्तै केही हुन्छ । अन्यायको विरुद्धमा न्यायको वकालत गर्न पाइन्छ । खराब सत्ता संरचनालाई खबरदारी गर्न पाइन्छ । शाब्दिक आन्दोलन गर्दै परिवर्तनको दिशाबोध गर्न पाइन्छ ।
‘बागी स्त्रीको आत्मकथा’ कवितासंग्रहकी लेखक सुमिना समसामयिक बिषय-वस्तुमा समेत कलम चलाउँछिन् । ‘अपराजिता पारिजात’की सम्पादक समेत रहेकी सुमिनासित टपटेन खबरले उनको कृती, हालको बजारसित सम्वन्धित रही दर्जन बढी सवाल-जवाफ गरेको छ । -सम्पादक
बागी स्त्रीको आत्मकथाले कस्तो ‘रेस्पोन्स’ पाइरहेको छ ?
अपेक्षा गरे भन्दा धेरै । ‘अपेक्षा नै जीवनको आधार र निराशाको कारक तत्व हो भनिन्छ’ । विगत बजारका कविता कृतिको अवस्था नियाल्दा म मा त्यति धेरै अपेक्षा जागृत गरेको थिएन । त्यसै कारणले पनि हो कि बागी स्त्रीको आत्मकथाले आसा गरेभन्दा बढी ‘रेस्पोन्स’ पाएको मैले महसुस गर्न पाएँ । अपेक्षा भन्दा धेरै पाउनु उत्साहजनक प्राप्ति हो ।
‘रेस्पोन्स’ एउटा लेखकका लागि महत्त्वपूर्ण हुन्छ । ‘रेस्पोन्स’ पनि फरक-फरक हुन्छ सायद तपाईँले आफ्नो पुस्तकको ‘रेस्पोन्स’ चाहिँ कस्तो – कस्तो पाउनुभयो ? अलि खुलस्त भनिदिनुहुन्छ कि !
रेस्पोन्स अवश्य महत्त्वपूर्ण हुन्छ । त्यो फरक फरक र विविध आयाममै हुन्छ । मुख्य ‘रेस्पोन्स’ भनेको पाठकको प्रेम नै हो । यो अवधिमा मैले लगभग देशका सबै क्षेत्रबाट पाठकको प्रेम नसोचेको र अकल्पनीय महसुस गर्न पाएँ । लाग्छ प्रेम गर्ने पाठक छन् र लेखक, लेखन र कृतिहरू जीवित छन् । सँगै पाठक प्रतिक्रिया, बजारको रेस्पोन्स, साहित्यिक व्यक्तित्वहरूको ध्यानाकर्षणलाई पनि रेस्पोन्स नै भन्न सकिएला !
‘राम्रो रेस्पोन्स’ पाउनु भएको भए पुस्तकबाट आम्दानी कति भयो ? प्रकाशकबाट के कति पाउनु भो ? पाठक या अन्यबाट … ?
लेखक बाँच्नको निम्ति आर्थिक महत्त्वपूर्ण कुरा हो ! ‘अर्थ’ महत्त्वपूर्ण हुँदाहुँदै पनि यो पुस्तक निकाल्नुको मुख्य प्रयोजन चाँहि अर्थ थिएन । त्यसैले पनि आम्दानीको हिसाब गरिएन । आम्दानी अवश्य भयो तर कति भन्ने हिसाब निकाल्न तिर लागिएन ।
पुस्तकको बजार कस्तो रहेछ ? आफ्नो कृति प्रकाशन पछि अलिकति तपाइलाई बजारले चिन्यो । अलिकति सायद तपाइले बजार चिन्नुभयो ।
बजारको मूल्याङ्कन गर्दै गर्दा हामीले हाम्रो समाज र समयको आजको अवस्थितिलाई पनि मूल्याङ्कन गर्नुपर्छ होला । पुस्तक लेखन र पठन दुवै वैचारिक र बौद्धिक कर्म हो । आजका हामीहरू बौद्धिक सङ्कट र वैचारिक खडेरीले निम्त्याएको विषाद समयबाट गुज्रिरहेका कारण त्यसको प्रभाव बौद्धिक र वैचारिक खुराक पुस्तक बजारमा पनि स्वाभाविक रूपमा देखिन पुग्छ । बजार अत्यन्तै उत्साहजनक अवश्य छैन, तर केही अध्ययनशील मान्छेहरूको उपस्थितिले त्यसलाई मुर्झाउन पनि दिएको छैन । राम्रो सामाग्री छ भने अझै पनि खोज्ने र पढ्ने मान्छेको कमी छैन ।
आफ्नो कृतिको नामकरण किन ‘बागी स्त्रीको आत्मकथा’ राख्नु भो ? आफै आफ्नो ‘अहम्’ बोलेजस्तो लाग्दैन ?
कृतिका अधिकांश कविताहरूले स्त्री विद्रोहलाई बुलन्द गरेका छन् । एक बागी स्त्रीको उपस्थिति कवितामा जोडदार भेटिन्छ । यही नामले समग्र कविताको प्रतिनिधित्व गर्छ र सङ्ग्रहमाथि न्याय हुन्छ भनेरै यो नामकरण गरिएको हो । ‘बागी स्त्रीको आत्मकथा’ भनिएको छ । ‘सुमिना बागी स्त्री र सुमिनाको आत्मकथा’ कतै भनिएको छैन । त्यसैले अहम् कस्तो ? यो अनिवार्य छैन कि त्यो ‘बागी स्त्री’ म नै हुँ ! मैले त्यस्तो घोषणा घोषित अघोषित रूपमा कतै गरेकी छैन ।
अचेल के गर्दै हुनुहुन्छ ? आगामी योजना के छ ?
आफ्नै ज्ञानको दायरा आफैलाई अत्यन्तै साँघुरो र छोटो लागिरहेकोले गहन अध्ययन गरिरहेकी छु । भविष्यमा यसलाई महत्त्वपूर्ण कार्यको निम्ति भरपुर उपयोग गर्ने सोचमा छु ।
कविता किन लेख्नुहुन्छ ? कविता लेखेर के हुन्छ ?
कहिलेकाहीँ आफ्नै मस्तिष्कमा उच्छलन गरिरहेका भावावेगहरूलाई स्थिर बनाउन कविता लेख्छु । अक्सर समाज र समयसँग प्रतिक्रिया गर्नको निम्ति कविता लेख्छु ।
कवि भूपी शेरचनको कविता छ-
‘कवि हुनु,
बलिया र निर्धाहरूको लडाइँमा
बलियाहरूलाई ललकारेर
निर्धाहरूलाई ढोग्नु हो ।’
कविता लेखेर यस्तै केही हुन्छ । अन्यायको विरुद्धमा न्यायको वकालत गर्न पाइन्छ । खराब सत्ता संरचनालाई खबरदारी गर्न पाइन्छ । शाब्दिक आन्दोलन गर्दै परिवर्तनको दिशाबोध गर्न पाइन्छ ।
कविता के हो ? कविता के होइन ?
कविता क्रान्ति हो, प्रतिक्रान्ति होइन ! कविता अग्रगमन हो, प्रतिगमन होइन । कविता न्याय हो, अन्याय होइन । कविता उज्यालो /अँध्यारो दुवै हो तर कविता उज्यालोको निमित्त हो । कविता उत्साह /निराशा दुवै हो तर कविता निराशाको निमित्त किमार्थ होइन ।
आफ्नै कविताको सीमा के लाग्छ तपाईँलाई ?
मेरो जीवन दर्शन र मैले धारण गरेको विचारको सीमा जे हो कविताको सीमा त्यही हो । म वैचारिक रूपमा जहाँ छु मेरो पक्षधर ता जे हो म कवितामा त्यहीँ छु । जीवन दर्शन र व्यवहारमा जस्तै कवितामा पनि मैले ती घेरा र सीमितताहरूलाई भत्काएर बाहिर जान सक्दिनँ ।
आफ्नै कविताको शक्ति वा राम्रो पक्ष के हुन् ?
स्रष्टालाई आफ्नो सृजना अवश्य सुन्दर र बलवान् लाग्छ । तर आफ्नै मुखबाट आफ्नै शक्तिको बयान र प्रशंसा थाहै नपाई ‘अहमतामा’ बद्लिन सक्छ । आफू आफैबाट मोहित हुँदा म ‘नार्सिसिस्ट’ बन्न सक्छु । जून आफ्नै लागि घातक छ । त्यसैले यो कुरा कुनै समालोचक या पाठकहरूलाई सोध्नुहोला !
‘बागी स्त्रीको आत्मकथामा’ कति र कस्ता कविता छन् ?
बागी स्त्रीको आत्मकथामा ५३ कविता छन् । जसमा केही प्रेम, वियोग, खुसी, निराशा, आक्रोश जस्ता मानवीय संवेदनामा आधारित र अधिकतम विद्रोही एवम् प्रतिरोधी कविताहरू छन् ।
‘बागी स्त्रीको आत्मकथा’मा पढ्न छुटाउनै नहुने के कुरा दिनुभएको छ ?
सम्भवतः सबै नै छुटाउन नहुने कुरा छन् । आजको समाज समय सन्दर्भ ! आजको विषाद परिस्थितिबाट निस्कन गरिरहेको कसरत र सकस कवितामा उल्लेख्य छ ।
‘सागरलाई ‘बुँद’ बनाउनुपर्यो भने कविता लेख्छु र सागरलाई सागरकै आकारमा चित्रित गर्नुपर्यो भने लेख लेख्छु ।’
पुस्तक प्रकाशनपछि लेखहरू निकै कम लेख्नुभएको हो ? किन ? के ले रोक्यो ?
म प्राय: लेखक बन्न या लेख्नकै निम्ति जोर जबरजस्ती लेख्ने गर्दिनँ । म मेरो आवश्यकताले लेख्ने गर्छु । कहिलेकाहीँ कुनै विषयले निकै दिनसम्म सताउँदा, छुँदा र त्यसमा आफूलाई लागिरहेको जस्तो धारणा अरूबाट न आउँदा प्राय: लेख्ने गर्छु । यो विषयमा मैले लेख्नै पर्छ भन्ने महसुस भएपछि हिजो पनि लेख्थेँ, आज पनि केही मात्रमा लेखिरहेकी छु । केही लेख्नै पर्ने विषयहरूमा थप अध्ययन गरिरहेको कारण अहिले अलि कम लेख्ने र सार्वजनिक गर्ने गरेकी हुँ । थप लेखनकै पूर्व तयारीमा छु ।
पत्रपत्रिकामा लेख लेख्नु र कविता लेख्नुमा के फरक छ ? किन पत्रिकामा लेख्नुहुन्छ, किन कविता नै लेख्नुहुन्छ ?
कवि निभा शाह भन्नुहुन्छ – ‘सागरलाई इनार होइन, बुँद बनाउनु कविता हो’ । सागरलाई ‘बुँद’ बनाउनुपर्यो भने कविता लेख्छु र सागरलाई सागरकै आकारमा चित्रित गर्नुपर्यो भने लेख लेख्छु । कहीँ कुनै स्थानमा हिर्काउनु मात्रै होइन मर्माहत नै पार्नु छ भने कविता लेख्छु या कहीँ कतै मिठास मात्रै होइन अत्यधिक मिठास ‘मधुरस’कै प्रवाह गर्नु छ भने पनि कविता लेख्छु । अर्थात् कुनै पनि भावना, विचार या अवस्थालाई चरम अवस्था उच्चतम बिन्दुबाट प्रकट गर्नु छ भने कविता लेख्छु । लेख लेख्नु र कविता लेख्नुका प्रयोजन उस्तै उस्तै भएपनि प्रकार फरक छन् दुवैको लागि फरक शैली र प्रकटीकरण अवलम्बन गर्छु ।
अन्त्यमा तपाईंलाई भन्न मन लागेका केही कुरा छन् ?
अहिलेलाई यथेष्ट भनिसकेँ जस्तो लागेको छ !

