असार २९
उत्तर कोरियाली नेता किम जोङ उनले युक्रेनमा जारी युद्धको सन्दर्भमा रूसलाई पूर्ण समर्थन गर्ने प्रस्ताव राख्नुभएको छ। शनिबार प्योङयाङमा रूसी विदेशमन्त्री सर्गेई लाभरोभसँगको भेटवार्ताका क्रममा किमले उक्त समर्थन व्यक्त गर्नुभएको हो।
उत्तर कोरियाली सरकारी समाचार संस्था केसिएनएका अनुसार, दुवै नेताबीचको भेट “न्यानो कमरेडेली विश्वासले भरिएको वातावरण” मा सम्पन्न भएको थियो। भेटका क्रममा किमले रूसको सुरक्षा र संप्रभुता रक्षाका लागि उत्तर कोरियाले भरपुर साथ दिने प्रतिबद्धता जनाउनुभएको थियो।
साथै, युक्रेनसँगको युद्धको सन्दर्भमा प्योङयाङले कुर्स्क क्षेत्र लगायतका रूसी सीमावर्ती क्षेत्रमा हजारौँ उत्तर कोरियाली सेना खटाएको रिपोर्ट छ। उत्तर कोरियाले तोपखाना, क्षेप्यास्त्र र युद्ध सामग्री पनि रुसी सेनालाई उपलब्ध गराएको अन्तर्राष्ट्रिय समाचारहरूले जनाएका छन्।
लाभरोभको यो उत्तर कोरिया भ्रमण मस्कोका उच्च अधिकारीहरूको हालसालैका एक पछि अर्को हुँदै आएका कूटनीतिक भ्रमणहरूमध्ये पछिल्लो हो। यसले उत्तर कोरिया र रूसबीचको सैन्य र राजनीतिक सम्बन्ध थप प्रगाढ हुँदै गएको संकेत गरेको छ।
दुवै देशले पश्चिमी मुलुकहरूको प्रभाव र प्रतिबन्धको विरोधमा आपसी सहयोग विस्तार गर्ने रणनीतिमा लागिपरेको स्पष्ट देखिएको छ। विशेषतः अमेरिका र नाटो गठबन्धनको भूमिकालाई चुनौती दिने उद्देश्यले यस्ता साझेदारीहरूलाई मस्को र प्योङयाङले प्राथमिकतामा राखिरहेका छन्।
विश्लेषकहरूका अनुसार, उत्तर कोरियाको यस्तो कदमले विश्व राजनीतिमा नयाँ ध्रुवीकरणको संकेत गर्न सक्नेछ भने युक्रेन युद्धलाई अझै लम्ब्याउने सम्भावना बढ्न सक्छ।

