तोमनाथ उप्रेती
अहंकार मानव चेतनामा गहिरो रूपमा बसेको त्यस्तो प्रवृत्ति हो, जसले व्यक्तिलाई “म” र “मेरो” को सीमित घेराभित्र बाँधिदिन्छ। यही घेरा भित्र रहँदा मानिस बाह्य उपलब्धि, प्रशंसा र तुलना बाट सुख खोज्न थाल्छ, तर यस्तो सुख क्षणिक हुन्छ र अन्ततः पीडामा रूपान्तरण हुन्छ। अहंकारले मनलाई अशान्त बनाउँछ, सम्बन्धलाई कमजोर पार्छ र आत्मचेतनाको विकासमा अवरोध खडा गर्छ।
जब व्यक्तिले आफ्ना कमजोरी स्वीकार गर्न सिक्छ र अहंकारको बोझ त्याग्छ, तब आत्मसुखको वास्तविक यात्रा सुरु हुन्छ। अहंकारको समाप्ति भनेको आत्मसम्मान गुमाउनु होइन, बरु आफ्नो अस्तित्वलाई व्यापक सत्यसँग जोड्नु हो। यस अवस्थामा व्यक्ति बाह्य स्वीकृतिभन्दा भित्री शान्तिमा रमाउन थाल्छ। आत्मसुख कुनै वस्तु, पद वा प्रशंसामा निर्भर हुँदैनस यो त चेतनाको शुद्ध अवस्थामा अनुभूत हुने स्थायी आनन्द हो।
पूर्वीय दर्शनले पनि यही सत्यलाई जोड दिएको छ—अहंकार क्षीण हुँदै जाँदा करुणा, विनम्रता र आत्मज्ञान प्रबल हुन्छ। यिनै गुणहरूबाट मन स्थिर बन्छ र जीवन अर्थपूर्ण हुन्छ। त्यसैले, अहंकारको समाप्ति कुनै क्षति होइनस यो त आत्मसुखको उज्यालो उदय हो
अहंकार मानव चेतनाको त्यो सूक्ष्म, तर अत्यन्त प्रबल शक्ति हो, जसले व्यक्ति र समाज दुबैमा द्वन्द्व र असन्तुलन उत्पन्न गर्छ। जब व्यक्तिले आफ्नो अस्तित्वलाई ‘म’ केन्द्रित दृष्टिकोणबाट हेर्छ, तब उसले अरूको अस्तित्व, भावनात्मक अवस्था, अधिकार र आवश्यकता उपेक्षित गर्न थाल्छ। अहंकारले मात्र भौतिक विजय वा छोटो समयको गौरव दिन सक्छ, तर दीर्घकालीन सुख, शान्ति र सन्तुलनको मार्ग बन्द गर्दछ।
सुखको वास्तविकता अहंकारमुक्त चेतनामा निहित छ। जब ‘म’ को पर्खाल हटाइन्छ, तब सम्बन्ध, समाज र आफ्नै आत्मा खुल्छ। अहंकारको वर्चस्वले प्रेमलाई आदेशमा, मैत्रीलाई प्रतिस्पर्धामा, र समझदारीलाई तर्कको युद्धभूमिमा बदल्दछ। तर जहाँ अहंकारलाई त्यागिन्छ, त्यहाँ प्रेम स्वतन्त्र, मैत्री सशक्त, र समझदारी सुसंगत हुन्छ। आत्मसमीक्षा, विनम्रता र क्षमाशीलता यस प्रक्रियाका मूल मन्त्र हुन्।जीवनको लक्ष्य भौतिक उपलब्धि वा शक्ति होइन, चेतनाको शुद्धता र आत्मसन्तोष हो। जब अहंकार हटाइन्छ, व्यक्ति आफ्नो लागि होइन, अरूको लागि पनि सोच्न सक्षम हुन्छ। निःस्वार्थ भावनाले व्यक्तिगत चेतनालाई मात्र नभई सामाजिक चेतनालाई पनि समृद्ध बनाउँछ। ‘म’ हराउने प्रक्रिया व्यक्तिगत मर्यादा र आत्म(ज्ञानको अभ्यास हो, जसले अन्ततः समाजमा शान्ति र समरसताको वातावरण सिर्जना गर्छ।
अहंकारमुक्त जीवनले भावनात्मक र मानसिक स्वास्थ्यमा पनि सकारात्मक असर पार्छ। जब व्यक्ति स्वार्थमुक्त हुन्छ, उसले द्वन्द्व र तनावलाई कम गर्छ, त्यसैले मनको अवस्था शान्त हुन्छ। मानसिक शान्ति व्यक्तिको जीवनमा स्पष्ट दृष्टि, समन्वय र निर्णय क्षमता ल्याउँछ। अहंकारको उपस्थिति बाह्य सम्बन्धमा बाधा मात्र होइन, आन्तरिक चेतनामा विकार ल्याउने कारण पनि हो। यसले निर्णयलाई स्वार्थ, क्रोध वा लोभले प्रभावित बनाउँछ, जसले दीर्घकालीन असन्तुलन र पीडा सिर्जना गर्छ।
बुद्ध धर्मले अहंकारको त्यागलाई मोक्ष र शान्तिको मार्ग मान्छ, भक्ति परम्परामा आत्मसमर्पणलाई परम सुखको आधार मानिन्छ। पौराणिक कथाहरूमा अहंकारी पात्रहरूको पतनले हामीलाई सम्झाउँछ कि अहंकारले छोटो समयको गौरव दिन सक्छ, तर अन्ततः विनाशको बीउ रोप्दछ। यसै सन्दर्भमा, जहाँ स्वार्थ र अहंकार मर्छ, त्यहाँ प्रेम, समझदारी र वास्तविक शान्ति फुल्छ।
अहंकारको अन्त्यले व्यक्तिगत जीवनलाई मात्र सुसंगत बनाउँदैन, समाज, परिवार र समुदायलाई पनि एकताको सूत्रमा बाँध्छ। जब ‘म’ को स्थापनामा केन्द्रित सोच ‘हामी’ केन्द्रित चेतनामा रूपान्तरण हुन्छ, तब सह(अस्तित्व, सहयोग र मानवीय सम्बन्ध बलियो हुन्छ। यस्तो अवस्था दीर्घकालीन शान्ति, स्थिरता र दिगो विकासको आधार बनाउँछ।
आजको युगमा स्वार्थ, लोभ र ईर्ष्याले मानिसको अन्तरात्मा नै क्षीण बनाउँदै लगेको छ। व्यक्तिको सोचाइदेखि लिएर राष्ट्रको नीतिसम्म स्वार्थको प्रभाव देखिन्छ। हरेक निर्णय, सम्बन्ध र व्यवहारमा आत्मकेन्द्रित प्रवृत्तिले स्थान लिएको छ। जसका कारण समाजमा सहयोगभन्दा प्रतिस्पर्धा, करुणाभन्दा घृणा र समर्पणभन्दा स्वार्थ बढेको छ। स्वार्थले मानिसलाई कठोर, संवेदनहीन र विवेकहीन बनाउँछ। यस्तो वातावरणमा आत्मिक शान्ति त के, सामाजिक सद्भाव पनि सम्भव हुँदैन। जबसम्म हामीले स्वार्थ त्याग गर्ने संस्कार विकास गर्न सक्दैनौँ, तबसम्म न त साँचो मित्रता सम्भव हुन्छ, न त स्थायी शान्ति। यसैले, शान्तिको बाटो स्वार्थमुक्त हृदयबाट मात्रै सुरु हुन्छ।जब मानिस स्वार्थ त्याग गर्छ, तब उसको दृष्टिकोण व्यापक हुन्छ। उसले आफूभन्दा अरूको पीडा, भावना र अधिकार बुझ्न थाल्छ। त्याग र समर्पणबाट जन्मिने यही चेतना नै शान्तिको पहिलो फूल हो। परिवारमा स्वार्थभन्दा प्रेम, माया र समर्पण हावी भएमा त्यहाँ कलह होइन, मेलमिलाप हुन्छ। राष्ट्रमा नेताहरूले व्यक्तिगत लाभको सट्टा जनताको हितलाई प्राथमिकता दिए भने राजनीतिक स्थायित्व र समृद्धि सम्भव हुन्छ।
त्याग भौतिक वस्तु परित्याग गर्नु मात्र होइन, अहंकार, लोभ, इर्ष्या, घृणा, द्वेषजस्ता नकारात्मक भावनाहरू त्याग गर्नु पनि हो। जब व्यक्तिमा आत्मिक चेतना विकसित हुन्छ, तब उसले आफ्नो स्वार्थभन्दा माथि उठेर समाज र मानव कल्याणको लागि सोच्न थाल्दछ। त्यही सोचबाट त्यागको भावना उत्पन्न हुन्छ।त्यागले व्यक्ति भित्र आत्मिक सन्तोष र मनोवैज्ञानिक स्थिरता ल्याउँछ, जसले शान्तिको अनुभूति गराउँछ। उदाहरणका लागि, महात्मा गान्धीले आफ्नो जीवनभर भोग विलास त्याग गरेर देश र जनताको सेवामा समर्पित भए, जसले उनीप्रति विश्वभर सम्मान र शान्तिको प्रतीकको रुपमा स्थापित गर्यो।
त्यागले द्वन्द्वको अन्त्य गर्छ र सहिष्णुता, करुणा र सहकार्यको वातावरण बनाउँछ। जब व्यक्तिहरू व्यक्तिगत स्वार्थ त्याग गरेर सामाजिक हितमा क्रियाशील हुन्छन्, तब समाजमा न्याय, समानता र सद्भावको स्थायीत्व रहन्छ।

