काठमाडौँ । नवनियुक्त दुई मन्त्रीले आइतवार शीतलनिवासमा आयोजित विशेष कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ ग्रहण गरेका छन्।
डा. सुधा गौतमले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाएकी छन् भने बब्लु गुप्ताले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन्।
प्रधानमन्त्री सुशीला कार्कीले आइतवार बिहान मन्त्रिपरिषद् विस्तारका लागि चार जनाको नाम सिफारिस गरेकी थिइन्। कार्कीद्वारा मन्त्रीपरिषदमा चार मन्त्रीको सिफारिस भएपछी खगेन्द्र सुनार र गणपतिलाल श्रेष्ठको नाममा व्यापक आलोचना भएको थियो ।
यद्यपि युवा तथा खेलकुद मन्त्री नियुक्त बब्लु गुप्ताको समेत आलोचना भएको छ ।
मन्त्रिपरिषदमा समेत आन्तरिक विवादका कारण दुई जनाको मात्रै आइतबार शपथ भएको हो।
गणपतिलाल श्रेष्ठलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र खगेन्द्र सुनारलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी दिने तयारी थियो। उनीहरूको शपथ भने रोकिएको बताइएको छ।
यसअघि प्रधानमन्त्री कार्कीले सात मन्त्री नियुक्त गरिसकेकी छन्।
शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय यादव, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, सभामुख देवराज घिमिरे, मन्त्रीहरू र उच्चपदस्थ अधिकारीहरूको उपस्थिति थियो।

