कीर्तिपुर, काठमाडौँ —त्रिभुवन विश्वविद्यालयले आफ्नो इतिहासमै पहिलोपटक नोबेल पुरस्कार विजेतालाई प्रमुख अतिथि बनाएर ५१औँ दीक्षान्त समारोह आयोजना गर्दैछ । कीर्तिपुरस्थित विश्वविद्यालय परिसरमा आज हुने दीक्षान्त समारोहमा सन् २०१५ मा भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार प्राप्त जापानी वैज्ञानिक प्रा. ताकाआकी काजिता प्रमुख अतिथि रहेका छन् ।
टोकियो विश्वविद्यालयमा आबद्ध प्रा. काजिताले न्युट्रिनो सम्बन्धी अनुसन्धानका लागि नोबेल पुरस्कार पाएका थिए । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक अर्यालका अनुसार दीक्षान्त समारोहका लागि त्रिपुरेश्वरस्थित रंगशालामा मण्डप निर्माणदेखि दीक्षित विद्यार्थी र अभिभावक बस्ने व्यवस्था लगायत सम्पूर्ण तयारी पूरा भइसकेको छ ।

यसपटक त्रिविबाट स्नातक, स्नातकोत्तर, दर्शनाचार्य तथा विद्यावारिधि तहमा गरी कुल ८९ हजार १९१ विद्यार्थी उत्तीर्ण भएका छन् ।
तीमध्ये १६ हजार ३८० जनाले दीक्षान्त समारोहमा सहभागिताका लागि आवेदन दिएका छन् । दीक्षान्त समारोहमा विद्यार्थी र अभिभावकसहित करिब ४१ हजार जनाको उपस्थिति रहने विश्वविद्यालयले जनाएको छ ।
कार्यक्रममा विभिन्न सङ्काय तथा तहमा उत्कृष्ट नतिजा हासिल गर्ने ११ छात्रा र १४ छात्र गरी २५ जनालाई पदक प्रदान गरिनेछ । यस वर्ष मानविकी सङ्कायबाट १४ हजार ८५१, व्यवस्थापनबाट ४३ हजार ६१०, कानुनबाट २ हजार ३३५ र शिक्षाबाट १६ हजार ४६७ विद्यार्थी उत्तीर्ण भएका छन् ।
नोबेल पुरस्कार विजेताको उपस्थितिसहितको दीक्षान्त समारोहले त्रिविको अन्तर्राष्ट्रिय शैक्षिक पहिचान थप सुदृढ हुने अपेक्षा गरिएको छ ।

