काठमाडौँ —राजावादी राजनीतिक धारमा एकाएक ठूलो फेरबदल भएको छ । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राप्रपा नेपाल एक भएका छन् । कुनै औपचारिक संकेत वा सार्वजनिक बहसविनै भएको यो एकताले राजनीतिक वृत्तलाई नै चकित पारेको छ ।
दुई पार्टीका अध्यक्षबीच बुधबार साँझ एकता सहमति पत्रमा हस्ताक्षर भएको हो । सहमति पत्रअनुसार पुस १६ गते औपचारिक एकता घोषणा सभा गरिने उल्लेख छ । बुधबार दुई नेताबीच भएको छलफलले एकताको विषय अन्तिम टुंगो लगाएको बताइएको छ ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले सामाजिक सञ्जालमा राजेन्द्र लिङ्देनसँगको तस्बिर सार्वजनिक गर्दै पार्टी एकताको निर्णय भएको जानकारी दिएका छन् । उनले लेखेका छन्, ‘राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा नेपालको बीचमा एकता हुने निर्णय भएको सुखद समाचार सबैमा निवेदन गर्दछु ।’
थापा २०७८ मंसिरमा भएको राप्रपाको महाधिवेशनमा लिङ्देनसँग पराजित भएपछि २०७८ माघ २५ गते पार्टीबाट अलग भएका थिए । उक्त महाधिवेशनमा उनले पूर्वराजा ज्ञानेन्द्र शाह र निर्मल निवासको हस्तक्षेपका कारण आफू पराजित भएको आरोपसमेत लगाएका थिए ।
राप्रपा अध्यक्ष लिङ्देनले पनि सामाजिक सञ्जालमार्फत एकताको पुष्टि गर्दै छरिएर रहेका राष्ट्रवादी शक्तिलाई ध्रुवीकरणमा सहभागी हुन आग्रह गरेका छन् । उनले लेखेका छन्, ‘अन्ततोगत्वा राप्रपा र राप्रपा नेपालबीच एकताको टुंगो लागेको छ ।’
राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार कमल थापा कुनै पनि बार्गेनिङ नगरी एकताका लागि तयार भएका हुन् । अचानक भएको यो एकताले राजावादी राजनीतिक धारमा नयाँ समीकरणको संकेत गरेको छ ।

