मधेश राजनीतिमा ध्रुवीकरणको संकेत : जसपा र स्वाधीन मधेश जनअभियानबीच कार्यगत एकता
काठमाडौँ —मधेश केन्द्रित राजनीतिमा नयाँ ध्रुवीकरणको संकेत देखिएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपाल र स्वाधीन मधेश जनअभियानबीच बुधबार कार्यगत एकता घोषणा भएको छ ।
बालकुमारीस्थित जसपा नेपालको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा दुवै पक्षले संयुक्त रूपमा संघर्ष अघि बढाउने सहमति गरेका हुन् ।
कार्यगत एकताको घोषणापत्रमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली स्थापनाका लागि संयुक्त संघर्ष गर्ने प्रतिवद्धता जनाइएको छ । साथै स्थानीय तहलाई विकास निर्माणको प्रमुख आधारका रूपमा स्थापित गर्न दलविहीन निर्वाचन प्रणालीको पक्षमा संघर्ष गर्ने सहमति पनि गरिएको छ ।
सहमतिपत्रमा वर्तमान संविधानलाई अधुरो, अपुरो, त्रुटीपूर्ण र विभेदकारी ठहर गर्दै त्यसको संशोधन, परिमार्जन तथा आवश्यक परे पुनर्लेखनसम्मको संघर्ष जारी राख्ने उल्लेख छ । विविध जात, जाति, भाषा, धर्म, संस्कृति र पहिचान भएका समुदायलाई समेट्ने गरी राज्य–राष्ट्रको नयाँ अवधारणा स्थापित गर्न संयुक्त प्रयास गर्ने सहमति पनि भएको छ ।
कार्यगत एकताको सहमतिपत्रमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र स्वाधीन मधेश जनअभियानका संयोजक कैलाश महतोले हस्ताक्षर गरेका छन् । सहमतिपछि अध्यक्ष यादवले मधेशका जनतालाई अधिकारसम्पन्न बनाउन एकता अपरिहार्य रहेको बताएका छन् ।
मधेशका केन्द्रीय दल र समूह विभाजित हुँदा लक्ष्यमा पुग्न नसकिएको उल्लेख गर्दै यादवले विचार मिल्ने शक्तिसँग एकताको सुरुवात भएको धारणा राखे । दुवै पक्षले हाल कार्यगत एकतामार्फत संयुक्त संघर्षका कार्यक्रम सञ्चालन गर्ने र भविष्यमा आवश्यकता अनुसार संगठनात्मक एकतासमेत गर्न सकिने सहमति गरेका छन् ।

