काठमाडौं । नेपाल टेलिकमले फाइबर टु द होम (एफटीटीएच) इन्टरनेट सेवाको गुणस्तर थप सुधार गर्न वाइफाई ६ प्रविधिको राउटर (सीपीई) र एक्सेस प्वाइन्ट (एपी) उपलब्ध गराउने भएको छ। यससँगै अब वाइफाई ६ प्याकेज अन्तर्गत न्यूनतम १०० एमबीपीएस क्षमताको एफटीटीएच इन्टरनेट सेवा वितरण गरिनेछ। यसअघि नेपाल टेलिकमले वाइफाई ५ प्रविधिको सीपीई उपलब्ध गराउँदै आएकोमा अब वाइफाई ६ प्रविधिको सीपीईका साथै पहिलो पटक एपी समेत उपलब्ध गराउन लागिएको हो। नयाँ प्रविधिका यी उपकरण प्रयोग गर्दा घर वा कार्यालयका विभिन्न स्थानमा वाइफाई सिग्नल कमजोर हुने समस्या समाधान हुने र इन्टरनेटको स्पिड उल्लेख्य रूपमा तीव्र हुने नेपाल टेलिकमले जनाएको छ।

