काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल–भारत आर्थिक सहकार्यलाई थप सहज, प्रभावकारी र परिणाममुखी बनाउनुपर्नेमा जोड दिएका छन्।
नयाँ दिल्लीमा सुरु भएको ‘दोस्रो इन्डो–नेपाल व्यापार महोत्सव २०२६’ लाई शुक्रबार सम्बोधन गर्दै उनले सहज भन्सार प्रक्रिया, मापदण्ड समन्वय, डिजिटल व्यापार प्रणाली सुदृढीकरण तथा साना–मझौला उद्योगका लागि वित्तीय पहुँच र प्रविधि हस्तान्तरणमा सहजीकरण गर्नुपर्ने आवश्यकता औँल्याए।
उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकालले भारत नेपालको सबैभन्दा ठूलो व्यापार साझेदार र प्रमुख लगानी स्रोत रहेको उल्लेख गर्दै खुला सीमा, सांस्कृतिक निकटता र जनस्तरको सम्बन्धले दुई देशबीचको साझेदारीलाई विशिष्ट बनाएको धारणा राखे।
विश्व अर्थतन्त्रमा अनिश्चितता र आपूर्ति शृङ्खलामा देखिएको अवरोधका बीच छिमेकी राष्ट्रबीचको सुदृढ सहकार्य अझ महत्वपूर्ण भएको उनको भनाइ थियो। भारतको हालैको केन्द्रीय बजेटले पूर्वाधार, डिजिटल कनेक्टिभिटी, हरित ऊर्जा तथा साना–मझौला उद्योग प्रवर्द्धनमा दिएको प्राथमिकताले नेपालका लागि समेत नयाँ अवसर सिर्जना गर्ने उनले बताए।
ढकालले नेपाल जलविद्युत्मा समृद्ध रहेको र भारततर्फ विद्युत् निर्यात सुरु भइसकेको जानकारी दिँदै उपयुक्त प्रसारण लाइन र नीतिगत स्थायित्व कायम भए नेपाल भारतको विश्वासिलो हरित ऊर्जा साझेदार बन्न सक्ने बताए।
पर्यटन क्षेत्रमा नेपालको प्राकृतिक सौन्दर्य, साहसिक तथा आध्यात्मिक गन्तव्यहरू उल्लेख गर्दै उनले होटल, रिसोर्ट र केबलकार परियोजनामा लगानीको अवसर विस्तार भइरहेको जानकारी गराए। ऊर्जा, पर्यटन, औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र, सीमापार लजिस्टिक्स, कृषि प्रशोधन, औषधि उद्योग, शिक्षा र स्वास्थ्य सेवा क्षेत्रमा प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै उनले भारतीय लगानीकर्तालाई लगानीका लागि आह्वान गरे।
नेपालको निजी क्षेत्रले सधैँ राजनीतिक स्थायित्व र आर्थिक अनुशासनको पक्षमा आवाज उठाउँदै आएको उल्लेख गर्दै उनले लगानीकर्ताको विश्वास दीर्घकालीन रूपमा कायम राख्न नीतिगत सुधारहरू भइरहेको बताए।
ढकालका अनुसार इन्डो–नेपाल व्यापार महोत्सव औपचारिक कार्यक्रम मात्र नभई सद्भावनालाई व्यावसायिक साझेदारीमा रूपान्तरण गर्ने प्रभावकारी मञ्च हो।
उनले हरित ऊर्जा, डिजिटल सेवा, पर्यटन र उत्पादन क्षेत्रमा ठोस सहकार्य अघि बढाउन भारतीय उद्योगी व्यवसायीलाई आग्रह गरेका छन्।

