काठमाडौँ — हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो १९औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ। बुधबार काठमाडौँको नक्सालस्थित आम्रपाली बैंक्वेटमा आयोजित सभाले कम्पनीका महत्वपूर्ण वित्तीय तथा संस्थागत एजेन्डाहरू सर्वसम्मत रूपमा पारित गरेको हो।
सभाले आर्थिक वर्ष २०८१/८२ का लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन, नेपाल वित्तीय प्रतिवेदन मानक (FRS) बमोजिम तयार पारिएको लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरू अनुमोदन गरेको छ।
यस्तै, सभाले स्वतन्त्र सञ्चालकमा गोपाल घिमिरेको नियुक्ति तथा सञ्चालक दीपक नेपालको नियुक्तिलाई पनि सर्वसम्मत रूपमा अनुमोदन गरेको छ। कम्पनीको सहायक संस्था हिमालयन इन्भेष्टमेण्ट बैंकर लिमिटेडको आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण पनि सभाले स्वीकृत गरेको छ।
आर्थिक वर्ष २०८२/८३ का लागि बाह्य लेखापरीक्षकमा एसएआर एशोसिएट्स चार्टर्ड एकाउन्टेन्ट्सलाई नियुक्त गर्ने सञ्चालक समितिको प्रस्तावलाई समेत सभाले पारित गरेको छ। साथै, प्रस्तावित विषयमा नियमनकारी निकायबाट कुनै संशोधन, परिमार्जन वा फेरबदलको निर्देशन आएमा सोहीअनुसार कार्यान्वयन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गरिएको छ।
कम्पनी ऐनको दफा १०५(१)(ग) बमोजिम आर्थिक वर्ष २०८१/८२ मा भएको खर्चको अनुमोदन पनि सभाले गरेको छ।
कम्पनीका अध्यक्ष शुलभ अग्रवालको सभापतित्वमा सम्पन्न कार्यक्रममा सञ्चालक समिति सदस्य प्रमिला केसीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् भने सञ्चालक आशिष ढकालले धन्यवाद ज्ञापन गरेका थिए।
सभामा प्रमुख कार्यकारी अधिकृत कपिल कुमार दाहालले शेयरधनीहरूको जिज्ञासाको जवाफ दिँदै प्राप्त सुझावहरूलाई कार्यान्वयन गर्दै कम्पनीलाई आगामी दिनमा अग्रणी बीमा कम्पनीका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरे।
सभामा शेयरधनीहरूको उल्लेख्य सहभागिता रहेको थियो भने कम्पनीको भावी रणनीति र दिगो वृद्धिका विषयमा पनि छलफल भएको थियो।

