काठमाडौँ : गत वर्ष विश्वका कुनै न कुनै स्थानमा प्रत्येक १० मिनेटमा एक महिलाको आफ्नै नजिकका व्यक्तिद्वारा हत्या भएको चर्को तथ्याङ्क सार्वजनिक गर्दै संयुक्त राष्ट्रसंघले नारीहत्या (फेमिसाइड) विरुद्धको लडाइँमा कुनै ठोस प्रगति नदेखिएको कठोर टिप्पणी गरेको छ।
महिला हिंसा उन्मूलन अन्तर्राष्ट्रिय दिवसका अवसरमा प्रकाशित संयुक्त राष्ट्रसङ्घीय लागुऔषध तथा अपराध कार्यालय (युएनओडिसी) र संयुक्त राष्ट्र महिला (युएन वुमेन) को प्रतिवेदनले सन् २०२४ मा करिब ५० हजार महिला तथा बालिकाले आफ्नै घनिष्ठ साझेदार वा परिवारकै हातबाट ज्यान गुमाएको उल्लेख गरेको छ।
प्रतिवेदनअनुसार विश्वभर हत्या गरिएका महिलामध्ये ६० प्रतिशतलाई आफ्नै साथी वा निकटतम आफन्त—जस्तै बुबा, काका, आमा, दाइ–भाइ—द्वारा ज्यान दिइएको छ। तुलनात्मक रूपमा पुरुष हत्या पीडितमध्ये आफ्नै नजिकका व्यक्तिद्वारा मारिने दर मात्र ११ प्रतिशत रहेको छ।
एक सय १७ देशका अभिलेखमा आधारित प्रतिवेदनले दैनिक १३७ महिला नारीहत्या अपराधको सिकार बन्ने गणना गरेको छ। सन् २०२३ को तथ्याङ्कभन्दा सङ्ख्या केही घटेको देखिए पनि विशेषज्ञहरूले यसलाई वास्तविक सुधारको सङ्केत होइन भन्दै फरक–फरक देशबाट प्राप्त हुने तथ्यांकको असमानताले यस्तो भ्रम सिर्जना भएको बताए।
प्रतिवेदनले चेतावनी दिँदै भन्यो—‘घर नै महिला र बालिकाका लागि सबैभन्दा खतरनाक स्थान’—किनकि नारीहत्या घटनामा कुनै कमी देखिएको छैन।
क्षेत्रगत रूपमा अफ्रिकामा मात्र गत वर्ष झण्डै २२ हजार महिलाको हत्या भई विश्वका सबै क्षेत्रमा सबैभन्दा उच्च सङ्ख्या दर्ता भएको उल्लेख गरिएको छ।
युएन महिला नीति डिभिजनकी निर्देशक सारा हेन्ड्रिक्सका अनुसार नारीहत्या कुनै एक्लो घटना होइन। “यसअघि नै व्यवहारगत नियन्त्रण, धम्की, दुव्र्यवहार तथा अनलाइन–अफलाइन दुवै माध्यममा हुने उत्पीडनका रूपहरू प्रकट भइसकेका हुन्छन्, जसको अन्त्य घातक हिंसामा पुगेको देखिन्छ,” उनले भनिन्।
हेन्ड्रिक्सका अनुसार प्रविधिको विकाससँगै महिलामाथि हुने हिंसाका पुराना रूप मात्र बढेका छैनन्, डक्सिङ, गैर–सहमति तस्बिर साझेदारी, डिपफेकजस्ता नयाँ डिजिटल अपराधको वृद्धि पनि भयावह बनेको छ।
उनले अनलाइन र अफलाइन दुवै क्षेत्रमा हिंसा कसरी फैलिन्छ भन्ने वैज्ञानिक बुझाइका आधारमा कडा कानूनी कार्यान्वयन र अपराधीलाई घातक हिंसामा उत्रनुअघि नै जवाफदेही बनाउने प्रणाली आवश्यक रहेको बताइन्।

