काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले उमेर हदका कारण आजदेखि अवकाशमा जान लागेका नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याललाई हिजो मंगलबार औपचारिक रूपमा बिदाइ गरेकी छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित विशेष समारोहमा उनले अर्याललाई बिदाइ गर्दै सेवाअवधिभरि देखाएको कर्तव्यपरायणता र नेतृत्वका लागि धन्यवाद ज्ञापन गरिन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार अर्यालको प्रशासनिक क्षमता, निर्णय कार्यान्वयनमा देखाएको सक्रियता र सुधारमूलक पहलको विशेष कदर गरिएको छ। मुख्यसचिव अर्यालले पनि आफ्नो कार्यकालमा पाएको सहयोग, विश्वास र सहकार्यप्रति आभार व्यक्त गर्दै सरकार र राष्ट्रका लागि योगदान दिन पाएकोमा खुशी व्यक्त गरे।
विसं २०४६ माघ ४ गते नायब सुब्बा पदबाट निजामती सेवामा प्रवेश गरेका अर्याल विसं २०८१ भदौ १३ गते मुख्यसचिवमा नियुक्त भएका थिए। उनी उमेर सीमा पूरा भएपछि अनिवार्य अवकाशमा जाँदैछन्।
यसअघि नै सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ मुख्यसचिवमा रक्षा मन्त्रालयका सचिव सुमनराज अर्याललाई नियुक्त गर्ने निर्णय गरिसकेको छ।

