काठमाडौँ । इथियोपियाको अफार क्षेत्रमा भएको हाइली गुब्बी ज्वालामुखी विस्फोटका कारण निस्किएको अति सूक्ष्म धुलो–धुवाँले हवाई मार्ग प्रभावित बनेपछि काठमाडौं–दोहा सम्बन्धी कतार एयरलाइन्सका दुई उडान उड्न सकेनन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान १० बजे र ११ बजे उड्ने कार्यतालिका पाएका वाइडबडी जहाजहरू ज्वालामुखीजन्य धुवाँको जोखिम बढेपछि रनवेबाटै रोकिएका विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेले बताए।
“ज्वालामुखीबाट निस्किएको धुवाँ हवाई सुरक्षाका लागि जोखिमपूर्ण देखिएपछि कतारका दुई वाइडबडी उडान स्थगित भए,” पाण्डेले भने, “राति २ बजेसम्म उडान सम्भावना रहेको खबर छ।”
उनका अनुसार ज्वालामुखी विस्फोटको प्रभाव नेपाल–कतार मार्गमा बढी परेपनि अन्य नियमित अन्तर्राष्ट्रिय तथा आन्तरिक उडान भने प्रभावित भएका छैनन्।
यता, सोही कारण मंगलबार नेपाल आउने भनिएको कोरियन एयरको उडान पनि रद्द भएको र अब बुधबार साँझ मात्र काठमाडौं आइपुग्ने जनाएको पाण्डेले जानकारी दिए।
उडान स्थगित भएपछि कतार एयरलाइन्समार्ग हुँदै यात्रा गर्ने सयौँ यात्रु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको यात्रु कक्षमै अलपत्र परेका छन्। कतार–काठमाडौं र काठमाडौं–दोहा दुवै उडान तालिका प्रभावित बनेपछि यात्रुहरूलाई ठूलो असुविधा परेको छ।

