काभ्रेपलाञ्चोक । धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)मा आजदेखि तीनदिने ‘एआई कन्क्लेभ–२०२६’ सुरु भएको छ। केयूको डिपार्टमेन्ट अफ आर्टिफिसियल इन्टेलिजेन्स अन्तर्गत आर्टिफिसियल इन्टेलिजेन्स क्लब (केयुएआइसी)को आयोजनामा सम्मेलन सञ्चालन गरिएको हो।
क्लबमार्फत सञ्चालन भइरहेको ‘एआई कन्भर्जेन्स–२०२६’ कार्यक्रमको दोस्रो चरणका रूपमा आयोजित यस सम्मेलनमा कृत्रिम बुद्धिमत्ताको सिकाइदेखि नवप्रवर्तनसम्मलाई एउटै प्लेटफर्ममा समेट्ने उद्देश्य राखिएको छ। क्लबका अध्यक्ष अशिम श्रेष्ठका अनुसार पछिल्लो दुई वर्षदेखि हुँदै आएको ‘एआई–मिट’ कार्यक्रमलाई परिस्कृत गर्दै यस वर्ष ‘एआई कन्क्लेभ’ आयोजना गरिएको हो।
सम्मेलनले एआईलाई केवल अनुसन्धान वा जेनरेटिभ टुलमा सीमित नराखी शिक्षा, स्वास्थ्य, वित्त, शासन, उद्योग तथा समाजका विभिन्न क्षेत्रमा यसको व्यावहारिक प्रयोगबारे जनचेतना फैलाउने लक्ष्य लिएको आयोजकले जनाएको छ। ‘ब्रिजिङ इन्टेलिजेन्स एन्ड इनोभेसन’ नारासहित आयोजित कार्यक्रममा विद्यार्थी, अनुसन्धानकर्ता, उद्योग, स्टार्टअप, नीति–निर्माता तथा सर्वसाधारणलाई एउटै मञ्चमा जोड्ने प्रयास गरिएको छ।
‘एआई कन्भर्जेन्स–२०२६’ तीन चरणमा सञ्चालन हुँदैछ। पहिलो चरण ‘एआई क्यानभास’ अन्तर्गत एआई फाउन्डेसन, बुटक्याम्प, वेबिनारजस्ता आधारभूत सिकाइ कार्यक्रम समावेश गरिएको थियो। दोस्रो चरणको रूपमा ‘एआई कन्क्लेभ’ माघ २८, २९ र ३० (जनवरी १२, १३ र १४) गते केयूको केन्द्रीय कार्यालयमा सञ्चालन भइरहेको छ।
सम्मेलनअन्तर्गत आज सोमबार ‘नेसनल लेभल एआई समिट’ आयोजना गरिएको छ। मङ्गलबार प्रोजेक्ट प्रदर्शनी, रोबोटिक्स प्रतियोगिता, ई–गेम्स, टेक–टक्स तथा एक्सपो सञ्चालन हुनेछ। बुधबार ‘एआई फर सोसाइटी’ शीर्षकमा प्यानल डिस्कसन, ई–गेम्सको फिनाले, एआईसम्बन्धी जनचेतनामूलक कार्यक्रम तथा एआई नीतिमा छलफल हुने आयोजकले जनाएको छ।
तीनदिने सम्मेलनमा करिब पाँच हजार अवलोकनकर्ताको सहभागिता रहने अनुमान गरिएको छ।

