काठमाडौँ । तीन दिनदेखि परेको अविरल वर्षापछि अवरुद्ध भएका अधिकांश राजमार्गहरू सञ्चालनमा आएका छन्। सडक विभागका अनुसार नारायणगढ–मुग्लिन, नारायणगढ–बुटवल र मुग्लिन–नारायणगढ सडक पूर्ण रूपमा सञ्चालनमा आइसकेका छन्।
त्यस्तै सिद्धार्थ राजमार्ग, कालीगण्डकी कोरिडोर (डेढगाउँदेखि गैडाकोट), धरान–धनकुटा सडक, र हिले–पाख्रिबास–लेगुवा सडक पनि सञ्चालनमा आएका छन्। त्रिभुवन राजमार्ग र लेघुवाघाट–भोजपुर सडक भने अहिले एकतर्फी रूपमा मात्र सञ्चालनमा छन्।
हेटौँडा–काठमाडौं जोड्ने हेटौँडा–कुलेखानी–फाखेल सडक एकतर्फी सञ्चालनमा रहेको छ भने हेटौँडा–पालुङ–नौबिसे सडक खण्ड खुलेको छ। तर फर्पिङ–भैसेँ सडक सिस्नेरी बजारमा नदीले सडक काटेपछि अवरुद्ध बनेको छ, जसलाई खुलाउन केही समय लाग्ने भएको छ।
त्यस्तै सुख्खा पहिरोका कारण अवरुद्ध मदनभण्डारी राजमार्ग अन्तर्गत गुल्मीको रिडी–तम्घास सडक पनि सञ्चालनमा आएको छ।
तर कान्ति लोकपथअन्तर्गत घट्टे पक्खा क्षेत्रमा पहिरो पन्छाउने काम जारी रहेकाले सडक सञ्चालनमा आउन सकेको छैन। हुलाकी राजमार्ग, महेन्द्र राजमार्ग र मेची राजमार्ग भने अझै अवरुद्ध नै छन्।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार मेची राजमार्गको माई खोलामा सडक सञ्चालन गर्न करिब तीनदेखि चार दिन लाग्ने अनुमान गरिएको छ। जोरकालासदेखि माई खोलासम्म सडक सुरक्षित भए पनि पुल बगाएको कारण आवतजावत रोकिएको छ।
बिब्ल्याँटेमा सडक मर्मतका लागि दुईवटा मेसिन परिचालन गरिएको मन्त्रालयले जनाएको छ। बिब्ल्याँटेबाट राक्सेसम्म सडक दुबै तर्फबाट बन्द छ भने साखेजुङस्थित पुवाखोलानजिकै सडक बगेको छ।
काभ्रेको रोशी खोलामा आएको बाढीले चौकीडाँडादेखि नेपालथोकसम्मको करिब साढे चार किलोमिटर सडक बगाएको छ। बिपी राजमार्ग ठप्प भएपछि पूर्वबाट आउने सवारी साधनलाई हाल पुष्पलाल मार्ग हुँदै काठमाडौं पठाइँदैछ।