काठमाडौँ । दशैं सकिएसँगै नेपाली बजारमा सुनको मूल्य एकैपटक तोलामा करिब १० हजार रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार दशैंअघि मूल्य समायोजन रोकिएको भए पनि पर्वपछि पुनः दर तोकिएसँगै बजारमा उच्च वृद्धि देखिएको हो।
महासंघका अनुसार असोज १२ गते प्रतितोला २ लाख २३ हजार २ सय रुपैयाँमा रहेको सुन सोमबार ९ हजार ९ सय रुपैयाँ बढेर २ लाख ३३ हजार १ सय रुपैयाँ पुगेको छ।
आइतबारको तुलनामा पनि आज सुनमा प्रतितोला २ हजार ५ सय रुपैयाँले वृद्धि भएको छ। अघिल्लो दिन सुनको कारोबार २ लाख ३० हजार ६ सय रुपैयाँमा भएको थियो।
यो अहिलेसम्मकै सबैभन्दा उच्च मूल्य हो।
चाँदीको भाउ पनि दशैंपछि बढेको छ। असोज १२ गते प्रतितोला २ हजार ८१० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार २ हजार ९६० रुपैयाँ पुगेको छ। अघिल्लो दिनको तुलनामा चाँदीमा ३० रुपैयाँले वृद्धि भएको महासंघले जनाएको छ।