काठमाडौं । वित्तीय प्रणालीमा अत्यधिक तरलता देखिएपछि नेपाल राष्ट्र बैंकले आइतबार ९० अर्ब रुपैयाँ संकलन गर्ने भएको छ।
पर्व–चाडका बेला विदेशबाट आउने रेमिट्यान्स बढ्नु र जेन–जी आन्दोलनपछि उद्योगी–व्यवसायीले ऋणप्रति चासो नदेखाउँदा प्रणालीमा पैसाको मात्रा असामान्य रूपमा बढेको हो।
केन्द्रीय बैंकका अनुसार कात्तिक १ गतेसम्म एक खर्ब ८ अर्ब रुपैयाँ बराबरको अतिरिक्त तरलता प्रणालीमा रहेको छ।
त्यसैगरी असोज मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले साढे ७ खर्ब रुपैयाँभन्दा बढी रकम केन्द्रीय बैंकमा निक्षेप गरेका छन्।
अधिक तरलता भएका बैंकहरूले हाल स्थायी निक्षेप सुविधा र निक्षेप संकलन उपकरणमार्फत पैसा राष्ट्र बैंकमा राख्दै आएका छन्।
स्थायी निक्षेप अधिकतम ३ दिनसम्म र निक्षेप संकलन उपकरणमार्फत राखिएको रकम ३ महिनासम्म रहन्छ।
आइतबार पनि राष्ट्र बैंकले ४२ दिन अवधिका लागि ९० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण जारी गरेको छ।
यसका लागि बैंक तथा वित्तीय संस्थाले आफूसँग भएको अतिरिक्त तरलता ब्याजदर तोकेर बोलकबोल गर्नुपर्नेछ।
ब्याजदर करिडोरको तल्लो सीमा २.७५ प्रतिशत कायम हुने गरी थोरै ब्याजदर कबोल गर्ने संस्थाको निक्षेप ४२ दिनका लागि लिइने राष्ट्र बैंकले जनाएको छ।

