काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले सार्वजनिक सेवा प्रसारण संस्थाले नयाँ प्रविधि, डिजिटल प्लेटफर्म र बढ्दो जनअपेक्षालाई आत्मसात् गर्दै प्रसारण सामग्रीको गुणस्तर र प्रभावकारिता बढाउन आवश्यक रहेको बताएका छन्।
सार्वजनिक सेवा प्रसारण नेपालअन्तर्गत नेपाल टेलिभिजनको ४१औँ वार्षिकोत्सवका अवसरमा शनिबार आयोजित विशेष समारोहमा उनले डिजिटल युगमा विषयवस्तु, पहुँच, प्रस्तुति र प्रविधिलाई निरन्तर विस्तार गर्नु अपरिहार्य रहेको उल्लेख गरे।
“परम्परागत रेडियो वा टेलिभिजनमा सीमित नभई डिजिटल माध्यममार्फत जनतासम्म पुग्नु आजको चुनौती मात्र होइन, नयाँ पुस्तासम्म राष्ट्रको आवाज पु¥याउने अवसर पनि हो,” उपराष्ट्रपति यादवले भने, “सरकारी सञ्चारमाध्यमको प्रमुख दायित्व राष्ट्रको आवाजलाई सशक्त बनाउने, नागरिकलाई जानकारीमूलक, शैक्षिक तथा प्रेरणादायी सामग्री उपलब्ध गराउने र लोकतान्त्रिक मूल्यहरूको संरक्षण गर्ने हो।”
नेपाल टेलिभिजन र रेडियो नेपालले राष्ट्रिय एकता, सामाजिक सद्भाव, सांस्कृतिक विविधता र लोकतान्त्रिक मूल्यहरूको प्रवर्द्धनमा निरन्तर योगदान दिँदै आएको उल्लेख गर्दै उनले सार्वजनिक सेवा प्रसारणलाई अझ सबल, प्रभावकारी र जनमुखी बनाउन सबैको साझा प्रयास आवश्यक रहेको बताए। साथै, राष्ट्रको आवाजलाई विश्वभर पु¥याउने, नागरिकलाई सशक्त बनाउने र समृद्ध नेपाल निर्माणमा सहायक बन्न सामूहिक जिम्मेवारी पूरा गर्न आह्वान गरे।
पत्रकारिता लोकतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै उपराष्ट्रपति यादवले सत्यतथ्य, निष्पक्षता र जनताको आवाज उजागर गर्नु पत्रकारिताको मूल दायित्व भएको बताए। “पत्रकारितामा समावेशिता, समान अवसर र सबै समुदायको प्रतिनिधित्व हुनु लोकतान्त्रिक मूल्य र सामाजिक न्यायको आधार हो,” उनले भने।
अर्को प्रसङ्गमा उपराष्ट्रपति यादवले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदाताले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा मतदान गर्न पाउने सुनिश्चितता गरिनुपर्नेमा जोड दिए। निर्वाचनसम्बन्धी सही सूचना प्रवाह, मतदाता सचेतना अभिवृद्धि र शान्तिपूर्ण वातावरण निर्माणमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको उनले बताए।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेतले राजनीतिक घटनाक्रम र प्राकृतिक विपत्तिका समयमा नेपाल टेलिभिजनले निष्पक्ष तथा आधिकारिक सूचनाको संवाहकको भूमिका निर्वाह गर्दै आएको बताइन्।
सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले अन्तरराष्ट्रिय मान्यता र राष्ट्रिय आवश्यकताअनुसार सार्वजनिक प्रसारण संस्थाहरू सञ्चालन हुँदै आएको उल्लेख गर्दै जनतालाई केन्द्रमा राखेर विषयवस्तु निर्माण गरिँदै आएको जानकारी दिए।
समारोहमा नेपाल टेलिभिजनमा ४०, ३० र २० वर्ष निरन्तर सेवा गरेका कर्मचारीलाई उपराष्ट्रपति यादवले दीर्घसेवापदक प्रदान गरे। साथै उत्कृष्ट कर्मचारी, पत्रकार, विज्ञापनदाता र कार्यक्रम निर्माता सम्मानित भएका थिए।
वि.सं २०४१ माघ १७ गते स्थापना भएको नेपाल टेलिभिजन समयानुकूल प्रविधि र प्रवृत्तिमा परिस्कृत हुँदै अघि बढिरहेको छ। हाल पाँचवटा च्यानलमार्फत विश्वव्यापी पहुँच विस्तार गरेको नेपाल टेलिभिजनले यसै वर्षदेखि अङ्ग्रेजी च्यानल ‘एनटिभी वर्ल्ड’ समेत सञ्चालनमा ल्याएको छ।
नेपाल टेलिभिजनको भू–सतही प्रसारण देशको ५२ प्रतिशत भू–भाग र ७२ प्रतिशत जनसंख्यामा पुगेको छ। सार्वजनिक सेवा प्रसारण नेपालका कामु प्रमुख प्रशासकीय अधिकृत विष्णुराम न्यौपानेका अनुसार टेलिभिजनले सात भाषामा दैनिक समाचार, २५ भाषामा साप्ताहिक कार्यक्रम तथा थप दुई भाषामा साप्ताहिक समाचार प्रसारण गर्दछ।

