कास्की । छैटौँ संस्करणको टाइगर कप भलिबल प्रतियोगिताको पुरुषतर्फको उपाधि गण्डकी प्रदेश भलिबल सङ्घले जितेको छ। पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा शनिबार सम्पन्न फाइनल खेलमा गण्डकीले नेपाल पुलिस क्लबलाई ३–१ सेटले पराजित गर्दै उपाधि आफ्नो पक्षमा पारेको हो।
पहिलो सेट २३–२५ ले गुमाएको गण्डकीले त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै लगातार तीन सेट जित्यो। दोस्रो सेट २८–२६, तेस्रो सेट २५–२२ र चौथो सेट २५–१७ ले जित निकाल्दै गण्डकीले उपाधि सुनिश्चित गरेको हो।
उपाधिसँगै गण्डकीले नगद छ लाख ६६ हजार ६६६ रुपैयाँ प्राप्त गर्यो भने उपविजेता नेपाल पुलिस क्लबले तीन लाख ६६ हजार ६६६ रुपैयाँमा चित्त बुझायो। तेस्रो स्थान हासिल गरेको पर्वत जिल्ला भलिबल सङ्घले दुई लाख छ हजार ६६६ रुपैयाँ प्राप्त गर्यो। तेस्रो स्थानका लागि भएको खेलमा पर्वतले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हराएको थियो।
प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी गण्डकीका मुस्ताफा खान घोषित भए। उनले २६ हजार ६६६ रुपैयाँ पुरस्कार पाए। विधागततर्फ सर्भर अद्नान खान, लिविरो भीमबहादुर गाहा, सेटर बलराम गुरुङ, ब्लकर फहद राज, स्पाइकर फकर वाट्ट र प्रशिक्षक रमेश केसी उत्कृष्ट घोषित हुँदै जनही ११ हजार १११ रुपैयाँ प्राप्त गरे।
महिलातर्फको उपाधि भने न्यु डायमन्ड स्पोर्ट्स क्लबले जितेको छ। नेपाल पुलिस क्लब उपविजेता बनेको प्रतियोगितामा थाइल्यान्ड क्विन्स तेस्रो स्थानमा रह्यो।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ ९ गतेदेखि सुरु भएको प्रतियोगितामा पुरुषतर्फ छ र महिलातर्फ पाँच टोलीको सहभागिता थियो।

