काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ १५ जिल्लाका मतपत्र छपाइको काम सम्पन्न भएको छ।
निर्वाचन आयोगका अनुसार हालसम्म १५ जिल्लाका १८ निर्वाचन क्षेत्रका प्रत्यक्षतर्फका मतपत्र छपाइ सकिएको हो। मतपत्र छपाइको काम जनक शिक्षा सामग्री केन्द्र, भक्तपुरमा जारी छ।
आयोगका अनुसार डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, सल्यान र जाजरकोट जिल्लाका प्रत्यक्षतर्फका मतपत्र छपाइ सम्पन्न भइसकेको छ। त्यसैगरी दैलेख निर्वाचन क्षेत्र नं. १ र २, सुर्खेत क्षेत्र नं. १ र २, रुकुमपश्चिम, बाजुरा र अछामका क्षेत्र नं. १ र २, कैलाली क्षेत्र नं. १, झापा क्षेत्र नं. ५ तथा सुनसरी क्षेत्र नं. १ का प्रत्यक्षतर्फका मतपत्र पनि छापिइसकेका छन्।
नमूना मतपत्रतर्फ १० लाख ९८ हजार २०० मतपत्र छपाइ सम्पन्न भई सम्बन्धित निर्वाचन क्षेत्रमा पुगिसकेको आयोगले जनाएको छ। साथै, समानुपातिकतर्फ दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइको काम पनि सम्पन्न भइसकेको छ।

