काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ राष्ट्रिय शक्तिको आवश्यकता महसुस गरेर नै कम्युनिस्ट पार्टीहरूबीच एकता प्रक्रिया अघि बढाइएको बताएका छन्।
नेपाली कम्युनिष्ट पार्टी सोलु–काठमाडौँ सम्पर्क समन्वय समितिले काठमाडौँमा आयोजना गरेको ‘निर्वाचन विशेष तथा बृहत् भेला’लाई सम्बोधन गर्दै संयोजक दाहालले राष्ट्रिय स्वाधीनताको रक्षा र वैदेशिक षड्यन्त्रलाई परास्त गर्न नेपाली कम्युनिस्ट पार्टी निर्माण गरिएको स्पष्ट पारे।
“विभिन्न कम्युनिस्ट पार्टी तथा समाजवादी घटकबीच एकता गरेर राष्ट्रिय शक्ति निर्माण गर्ने र निर्वाचनमार्फत जनअपेक्षा पूरा गर्ने सङ्कल्पका साथ पार्टी एकता गरिएको हो,” संयोजक प्रचण्डले भने ।
संयोजक दाहालले असाधारण परिस्थितिमा हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई महत्वपूर्ण बताउँदै नेकपाका उम्मेदवारलाई विजयी गराउन कार्यकर्ता तथा समर्थकहरूलाई आग्रहसमेत गर्नुभयो।

